काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा पार्टीले बेहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा उपसभापति विश्वप्रकाश शर्माले अस्वीकृत गर्ने संकेत दिएका छन् । बुधबार बुझाइएको उक्त राजीनामा पत्रलाई शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरी सर्वसम्मतिले अस्वीकृत गर्ने तयारी गरिएको छ ।
उपसभापति शर्माले डढेलो निभाउन गएको व्यक्तिलाई आगलागीको दोष दिनु न्यायासंगत नहुने भन्दै थापाको बचाउ गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पुरानो कार्यसमितिको कमजोरीको भारी बोक्न नपर्ने शर्माको तर्क छ ।
यता, सभापति थापाले राजीनामा पत्रमा आफ्नो निर्णय पराजित मानसिकता नभई जिम्मेवारीबोध भएको उल्लेख गरेका छन् । उनले पद छाडे पनि पार्टी पुनर्गठनका लागि देशव्यापी अभियानमा निस्कने संकल्प गरेका छन् । महामन्त्री प्रदीप पौडेलका अनुसार शुक्रबारको बैठकमा राजीनामामाथि छलफल भएपछि मात्र अन्य एजेन्डामा प्रवेश गरिनेछ ।
विशेष महाधिवेशनपछि सय पारको नारा दिएको कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी ३८ सिटमा खुम्चिएपछि पार्टीभित्र नैतिकताको प्रश्न उठेको हो ।
प्रतिक्रिया दिनुहोस