काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ताको कार्यालयले आइतबार सर्वोच्चको आदेश बमोजिम मुद्दा संशोधनसम्बन्धी सक्कल फाइल पेस गरेपछि आजका लागि सुनुवाइ तय भएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने विरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका गम्भीर मुद्दाहरू हटाएर सहकारी ठगीमा मात्र मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मार्फत निर्देशन दिएकी थिइन् । सोही निर्णय कानुनसम्मत नभएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएको थियो । महान्यायाधिवक्ताको निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा मुद्दा संशोधनका लागि निवेदन पेस भए पनि सर्वोच्चमा रिट विचाराधीन रहेका कारण ती प्रक्रिया अघि बढ्न सकेका छैनन् । काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने हालसम्म अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दिएका छैनन् ।
आजको सुनुवाइले लामिछानेमाथि तीनवटै मुद्दामा कारबाही अघि बढ्ने वा अभियोग संशोधन हुने भन्ने विषयमा महत्वपूर्ण दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस