काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य छानविनका लागि गठित आयोगको प्रतिवेदन सरकारले लुकाएको भन्दै उनले आपत्ति जनाएका हुन्।
महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत आयोगले प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि सार्वजनिक नगर्नुले गम्भीर आशंका जन्माएको बताए । प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु विडम्बना हो, यसले आशंका जन्माएको छ, उनले भने, आयोगको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको न्यूनतम दायित्व र जिम्मेवारी हो।
महामन्त्री पौडेलले आइतबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आधिकारिक रूपमा माग गर्ने निर्णय गरेको स्मरण गराएका छन् । भदौको घटनालाई लिएर नागरिकस्तरमा उठेका प्रश्नहरूको जवाफ प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्राप्त हुने कांग्रेसको ठहर छ ।
प्रतिक्रिया दिनुहोस