काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक बिपद्बाट हुने क्षतिलाईन्यूनिकरण गर्न समयमै प्राप्त हुने मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।
विश्व जल तथा मौसम दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले प्राकृतिक प्रकोपबाट हरेक बर्ष नेपालमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै त्यसलाई न्यूनिकरण गर्न समयमै प्राप्त हुने पूर्वानुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका हुन् ।
मौसम पूर्वानुमानका लागि देशका बिभिन्न स्थानमा स्थापना गरिएको मानव संसाधन सञ्चालितदेखि स्वचालित मापन केन्द्रहरू तथा राडार, स्याटलाइट तथा रेडियो सञ्चार जस्ता अत्याधुनिक उपकरण र प्रविधिहरूहरुको व्यवस्थापनलाई पनि निरन्तरता दिन अति आवश्यक रहेको उनले बताए ।
मन्त्री सिन्हाले मौसमका कारण देशभर एकैसाथ निर्वाचन हुन सक्छ वा सक्दैन भन्ने आशंककाबीच मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीका कारण नै हिमाली क्षेत्र लगाएत देशैभर एकैसाथ निर्वाचन गर्न समेत सफल भएको धारणा राखे ।
विपद् व्यवस्थापन, कृषि, जलस्रोत व्यवस्थापन, ऊर्जा उत्पादन, उड्डयन सुरक्षा तथा भौतिक पूर्वाधार क्षेत्रलगायतका धेरै क्षेत्रहरु मौसम सेवामा प्रत्यक्ष निर्भर रहेकाले जल तथा मौसम सेवाको विस्तार, सुदृढीकरण र आधुनिकीकरण आजको अपरिहार्य अवस्था रहेको उनले बताए ।
मन्त्री सिन्हाले पूर्वानुमान पूर्वानुमान प्रणालीलाई अझ विश्वसनीय, वैज्ञानिक र प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विस्तार तथा दक्ष जनशक्तिको विकासमा बढी जोड दिइएको उल्लेख गरे ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागकी निमित्त महानिर्देशक डा. अर्चना श्रेष्ठले जलवायु परिवर्तनका कारण हुनसक्ने जोखिम र चूनौतिलाई चिर्न मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । जल तथा मौसम विज्ञानको नीति तयार भइसकेको भन्दै उनले ऐन बनेपछि सेवा सुधारमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइएको हो । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस