काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुँदैछ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सोमबार भएको बहस नसकिएपछि उक्त मुद्दालाई आजका लागि हेर्दाहेर्दै मा राखिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धका मुद्दाहरूमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउन अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।
महान्यायाधिवक्ताको उक्त निर्णयले लामिछानेलाई राजनीतिक संरक्षण दिन खोजेको र गम्भीर अपराधलाई कमजोर बनाएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले छुट्टाछुट्टै रिट दायर गरेका थिए । निवेदकहरूले यो निर्णयलाई बदनियतपूर्ण र गैरकानुनी भन्दै खारेजीको माग गरेका छन्।
यसअघि सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयबाट उक्त निर्णयसँग सम्बन्धित सबै सक्कल फाइलहरू झिकाउने आदेश दिएको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै कारण कास्की र रूपन्देही जिल्ला अदालतले अभियोग संशोधन गर्ने प्रक्रियालाई तत्कालका लागि रोकेका छन् ।
यदि सर्वोच्चले महान्यायाधिवक्ताको निर्णय सदर गरेमा लामिछानेलाई सहकारी ठगी बाहेकका गम्भीर अभियोगबाट राहत मिल्नेछ । तर, अदालतले उक्त निर्णय बदर गरेमा उनीमाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा यथावत् रहनेछ, जसले उनको राजनीतिक भविष्य र संसदीय यात्रामा समेत प्रभाव पार्न सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस