काठमाडौं । नेपाली कांग्रेसकी नेता तथा सांसद डा. डिला संग्रौलाले दार्चुलाको गम्भीर घटनाको छानबिन गर्न र सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन् ।
डा. संग्रौलाले नदी तर्ने क्रममा तुइन काटेर ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्त अमानवीय र खेदजनक भएको भन्दै त्यसको सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गरेकी हुन् ।
सामाजिक संजालमार्फत् उनले भारतीय पक्षसँग वार्ता गरी पीडितलाई न्याय र आफ्नो नागरिकको जीवन रक्षा गर्न सरकारसँग माग गरेकी हुन् ।
शनिबार दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउने क्रममा महाकाली तर्न तुइन चढेका नदीमा खसेर बेपत्ता भएका थिए । स्थानीयले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि उनी बेपत्ता भएको बताएका छन् ।