काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) बीच बाह्राबिसे नगरवासीलाई उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौताअनुसार बाह्रबिसे नगरपालिकाका बासिन्दाले काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध बिरामीलाई प्राथमिकताका साथ उपचार सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । सम्झौतामा नगर प्रमुख बालकृष्ण बस्नेत र काठमाडौं मेडिकल कलेजका प्रशासनिक प्रबन्धक अर्चना थापाले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार बाह्रबिसे नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालमा ओपीडी कार्ड तथा बिरामी दर्ता सेवा निःशुल्क प्राप्त गर्नेछन् । सामान्य बेड शुल्कमा २५ प्रतिशत र क्याबिन शुल्कमा १० प्रतिशत छुट दिइनेछ । यस्तै आईसीयू, एचडीयू, सीसीयू, शल्यक्रिया सेवा, प्रयोगशाला परीक्षण, सीटी स्क्यान, एमआरआई, एक्स–रे, अल्ट्रासाउन्ड, ईसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी तथा विभिन्न डायग्नोस्टिक सेवामा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
दन्त उपचारतर्फ स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिस सेवामा पनि २५ प्रतिशत छुट दिइनेछ भने ईआरसीपी र एमआरसीपी सेवामा समेत सोही दरको सहुलियत उपलब्ध हुनेछ ।
एन्जियोग्राम, एन्जियोप्लास्टी तथा न्युरो इन्टरभेन्सनलगायत क्याथ ल्याब सेवामा छुट नलाग्ने उल्लेख गरिएको छ। स्टेन्ट, गाइड वायर, बलुनजस्ता कन्जुमेबल सामग्री र प्रत्यारोपण (ट्रान्सप्लान्ट) सेवामा पनि छुटको व्यवस्था छैन
सहुलियत प्राप्त गर्न बिरामीले आफ्नो ठेगाना खुल्ने परिचयपत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । १६ वर्षमुनिका बालबालिकाका हकमा जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्ने बाह्रविसे नगपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए ।
सम्झौता एक वर्षका लागि लागू हुने र आवश्यकता तथा प्रभावकारिताको मूल्यांकन गर्दै नवीकरण गर्न सकिने उल्लेख छ । सम्झौताको कार्यान्वयन तथा समीक्षा प्रत्येक ६ महिनामा दुवै पक्षले संयुक्त रूपमा गर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले यस सम्झौताबाट बाह्रबिसेका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्ने र विशेषगरी स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कोषमा आबद्ध नागरिकलाई थप राहत पुग्ने नगर प्रमुख बस्नेतले जानकारी दिए । पुर्व सासंद सुनिल शर्माको विशेष पहलमा केएमसीसँग यो सम्झौता भएको मेयर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस