काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानीपछि पर्याप्त अनुगमन नगर्ने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूले कर्जा प्रवाह गरेपछि आवश्यक वार्षिक मूल्याङ्कन तथा अनुगमनमा पर्याप्त ध्यान नदिएको उल्लेख गरेको छ।
राष्ट्र बैंकका अनुसार कर्जा मूल्याङ्कन तथा कर्जा वर्गीकरण प्रक्रियामा विभिन्न कमजोरीहरू देखिएका छन्। ‘लिलामी प्रक्रियामा रहेका कर्जा फाइलहरूलाई उचित वर्गमा नराख्ने, ऋणीहरूको वार्षिक मूल्याङ्कन नगर्ने तथा सम्बन्धित पक्षलाई प्रवाह गरिएका कर्जाको प्रभावकारी अनुगमन नगर्ने प्रवृत्ति देखिएको छ,’ राष्ट्र बैंकले जनाएको छ।
कर्जा प्रवाहका क्रममा पनि विभिन्न अनियमितता तथा कमजोरीहरू भेटिएको राष्ट्र बैंकको भनाइ छ। बैंकहरूले ऋणीको योग्य कर्जा उपभोग सीमाभन्दा बढी कर्जा प्रवाह गर्ने, नकारात्मक खुद मूर्त सम्पत्ति भएका संस्थाहरूलाई कर्जा उपलब्ध गराउने, पर्याप्त धितोबिना कर्जा विस्तार गर्ने तथा कुनै वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी स्वामित्व प्रतिनिधित्व गर्ने शेयरलाई मार्जिन कर्जाको धितोका रूपमा स्वीकार गर्ने गरेको पाइएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस