काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको नवौँ बैठकले पार्टी उपाध्यक्ष को गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी भन्दै त्यसको राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
अध्यक्षको निवास, गुण्डु भक्तपुरमा मंगलबार बसेको बैठकले राज्य संयन्त्रको प्रयोग गरी राजनीतिक प्रतिशोध साध्ने प्रयास भएको आरोप लगाउँदै उक्त कदम लोकतान्त्रिक अभ्यास र विधिको शासनविपरीत भएको निष्कर्ष निकालेको जनाएको छ।
बैठकले बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गिरफ्तारीलाई स्वीकार गर्न नसकिने उल्लेख गर्दै यसविरुद्ध पार्टीले संस्थागत रूपमा संघर्ष अघि बढाउने बैठकले निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
एमालेले यस प्रकरणमा विशेष अदालतबाट पूर्वापक्षका लागि थुनामा राख्न दिइएको आदेशप्रति पनि असहमति जनाएको छ। पार्टीले उक्त आदेश न्यायसम्मत नरहेको दाबी गर्दै घटनालाई राजनीतिक पूर्वाग्रहबाट निर्देशित भएको व्याख्या गरेको आचार्यले जानकारी दिए ।
बैठकले उपाध्यक्ष पौडेलको विनासर्त अविलम्ब रिहाइ को माग गर्दै सम्बन्धित निकायलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
यस्तै, राज्यका तर्फबाट भएको भनिएको विभेदकारी र प्रतिशोधपूर्ण कदमविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध तथा ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। एमालेले पार्टीपंक्ति तथा न्यायप्रेमी नागरिकलाई अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस