काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा धान उत्पादन बढ्दै गएको देखिए पनि चामल आयात भने उच्च नै रहेको छ। यसले उत्पादन र उपभोगको वास्तविक अवस्थाबारे नयाँ बहस सुरु गराएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान खेती भई ५१ लाख ३० हजार ६२५ टन उत्पादन भएको थियो। त्यसपछि २०७९/०८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा ५४ लाख ८६ हजार ४७२ टन उत्पादन भयो। आर्थिक वर्ष २०८०/०८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा उत्पादन बढेर ५७ लाख २४ हजार टन पुगेको थियो।
आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलबाट हालसम्मकै उच्च ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ। तर चालु आर्थिक वर्ष २०८२/०८३ मा १४ लाख ४७ हजार हेक्टरमा खेती भए पनि उत्पादन घटेर ५७ लाख ५ हजार टनमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशत कम हो।
कृषि क्षेत्रका जानकारहरूका अनुसार नेपालको कृषि प्रणाली अझै पनि वर्षामा निर्भर हुनु, समयमा मल उपलब्ध नहुनु र आधुनिक प्रविधिको सीमित प्रयोगका कारण उत्पादनमा दीर्घकालीन सुधार हुन सकेको छैन।
उत्पादनमा सुधार देखिए पनि चामल आयात भने उल्लेख्य रूपमा घटेको छैन। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा देशमै हालसम्मकै धेरै धान उत्पादन हुँदा पनि ४० अर्ब १८ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो।
यस विषयमा कृषि विज्ञ उमेश नेपालले सरकारी तथ्यांकमाथि प्रश्न उठाएका छन्। उनका अनुसार प्रतिव्यक्ति वार्षिक १३८ किलोग्राम चामल खपतका आधारमा तीन करोड जनसंख्याका लागि करिब ४१–४२ लाख टन चामल पर्याप्त हुनुपर्ने हो। "उत्पादन ५७ देखि ५९ लाख टन पुग्दासमेत किन अर्बौं रुपैयाँको चामल आयात भइरहेको छ? यो तथ्यांकको समस्या हो कि भन्सार छुटको दुरुपयोग गरेर चामलको नाममा अन्य वस्तु आयात भइरहेको हो भन्ने विषय गम्भीर रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ," उनले भने ।
सरकारी पक्ष भने उत्पादन बढ्दासमेत आयात उच्च देखिनुका पछाडि विभिन्न कारण रहेको बताउँछ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलका अनुसार आयात भएको सबै चामल प्रत्यक्ष रूपमा उपभोगका लागि मात्र प्रयोग हुँदैन।
उनका अनुसार नेपालीको चामल उपभोग उच्च हुनु, भारतले स्टक क्लियरियरेन्सका बेला निर्यातमा सहुलियत दिनु तथा व्यवसायीले त्यसबेला अग्रिम रूपमा ठूलो परिमाणमा आयात गरेर भण्डारण गर्नु पनि आयात बढ्नुका कारण हुन्।
सन्जेलले आयातित चामलको केही हिस्सा मदिरा उद्योग, ब्रोकन राइस उत्पादन तथा अन्य गैरखाद्य औद्योगिक प्रयोजनमा समेत प्रयोग हुने भएकाले आयातको तथ्यांकलाई केवल खाद्यान्न उपभोगसँग मात्र जोडेर हेर्न नहुने बताए।
प्रतिक्रिया दिनुहोस