काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे गृहमन्त्री सुधन गुरुङको जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले कर्णाली राजमार्गमा बारम्बार भइरहेका सवारी दुर्घटना र त्यसपछि गरिने उद्धार कार्यबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।
उनले भविष्यमा कर्णाली राजमार्गमा हुनसक्ने दुर्घटना रोक्नका लागि सरकारले आफ्नो योजना सदनको रोष्ट्रमबाट दिनुपर्ने बताए ।
सांसद प्रसाईंले कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको बताए । उनले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य कुनै पनि हालतमा पन्छिन नपाउने पनि बताए ।
उनले कर्णाली दुर्घटना उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे–नगरेको र भीरमा अड्किएका नागरिकको हारगुहारका बाबजुद उद्धारमा लापरवाही भएको विषयमा सत्यतथ्य बाहिर ल्याउन माग गरे । उनले दुर्घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखसँग रुलिङको माग गरे ।
प्रतिक्रिया दिनुहोस