काठमाडौं / प्रतिनिधिसभाका विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले प्रधानमन्त्रीको सम्पत्ति छानबिनबाटै भ्रष्टाचार नियन्त्रणको अभियान सुरु गर्नुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित सम्पत्तिबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले सत्तापक्ष र विपक्षी दुवै नेताले कानुनको समान दायरामा उभिनुपर्ने भन्दै छानबिन आफ्नै तहबाट सुरु गर्नुपर्ने धारणा राखे।
‘सत्तापक्षमा प्रधानमन्त्री र विपक्षीमा मबाटै सम्पत्ति छानबिन सुरु गरौँ,’ उनले भने, ‘छानबिन अरूको मात्रै होइन, आफ्नैबाट पनि सुरु हुनुपर्छ। आफूलाई कानुनभन्दा माथि राखेर हेर्नु हुँदैन।’
आङदेम्बेले सरकारले सुकुम्बासीप्रति अपनाएको व्यवहारप्रति पनि असन्तुष्टि जनाए। गरिब र विपन्न समुदायको आवाज सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनले राज्य सबै नागरिकको समान भएको उल्लेख गरे।
प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भने, ‘यो देश कालो लुगा लगाउने, कालो चस्मा लगाउने र कालै गाडी चढ्नेको मात्रै होइन, गरिबको पनि हो।’
उनले सरकारले नीति तथा व्यवहार दुवैमा गरिब, सुकुम्बासी र सीमान्तकृत समुदायप्रति न्यायपूर्ण दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस