२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

दुई गोलको अग्रता उल्टाउँदै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा, कप्तान मेसीको कीर्तिमानै कीर्तिमान

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । साविक विजेता अर्जेन्टिना दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टामा भएको रोमाञ्चक तथा सनसनीपूर्ण राउन्ड अफ १६ को खेलमा इजिप्टलाई ३–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको ७९औँ मिनेटसम्म २–० ले पछि रहेको अर्जेन्टिनाले खेलको अन्तिम ११ मिनेटमा अविश्वसनीय पुनरागमन गर्दै लगातार तीन गोल गरेर जित खोसेको हो ।

यसअघि खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले हेडरमार्फत गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा हाइसेम हसनको पासमा मोस्ताफा जिकोले गोल गरेपछि इजिप्टले २–० को बलियो अग्रता बनायो । ९२ वर्षपछि पहिलो पटक विश्वकपको समूह चरण पार गरेर नकआउट पुगेको इजिप्ट इतिहास रच्ने नजिक पुगे पनि खेलको अन्तिम समयमा आफ्नो रक्षापंक्ति सम्हाल्न नसक्दा विश्वकपबाट बाहिरिन बाध्य भयो ।

अर्जेन्टिनाका लागि ७९औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडरमार्फत पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनेटपछि मेसी स्वयंले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याए। खेलको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को सनसनीपूर्ण जित पक्का गर्‍यो । अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले कोलम्विया र स्विट्जरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

इजिप्टविरुद्धको खेलमा गोल र असिस्ट गरेसँगै कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा कीर्तिमानको वर्षा गरेका छन् । उनी विश्वकप इतिहासमा लगातार ९ खेलमा गोल गर्ने र लगातार ६ वटा नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकप इतिहासमै सर्वाधिक ३१ खेल खेल्ने, सर्वाधिक २१ गोल गर्ने तथा ६ संस्करण विश्वकप खेल्ने उनी विश्वकै एकमात्र खेलाडी हुन् । 

यसका साथै मेसीले विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । जारी विश्वकपमा ८ गोलसहित मेसी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहे पनि उनी एउटै विश्वकपमा दुई पेनाल्टी गुमाउने अनौठो खेलाडीसमेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट