काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार अनुसन्धान अझै बाँकी रहेको भन्दै पाँच दिनको म्याद थप गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि असार ९ गते सात दिन, १५ गते तीन दिन र १८ गते छ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। पछिल्लो आदेशसँगै उनीमाथिको हिरासत अवधि पुनः लम्बिएको छ।
अनुसन्धान अधिकारीहरूले आर्थिक कारोबार, सम्पत्तिको स्रोत, लगानी तथा सम्बन्धित कागजातहरूको परीक्षण अझै जारी रहेकाले थप समय आवश्यक परेको दाबी गरेका छन्। त्यसकै आधारमा अदालतले अनुसन्धानका लागि पुनः म्याद थप गरेको हो।
यसबीच पौडेलकी पत्नीले उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै तत्काल रिहाइको मागसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। तर सर्वोच्च अदालतले उक्त रिट खारेज गरेपछि उनी अनुसन्धानकै सिलसिलामा हिरासतमा रहेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान सकिएपछि मात्रै अभियोजन गर्ने वा नगर्ने विषयमा निर्णय हुने कानुनी व्यवस्था छ। त्यसैले हाल अनुसन्धान निकायले आवश्यक प्रमाण संकलन, बयान तथा वित्तीय विवरणको विश्लेषणलाई तीव्र बनाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस