काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, व्यवहारिक चुनौती र तिनको समाधानका उपायबारे आज निर्माण व्यवसायीहरूसँग विशेष छलफल गर्दै छन् । सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा केन्द्रित रहेर प्रधानमन्त्रीले व्यवसायीहरूलाई छलफलका लागि बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा बिहान ११ः३० बजे नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूलाई छलफलका लागि बलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने जनाइएको छ ।
छलफलमा विशेष गरी निर्माण क्षेत्रमा लामो समयदेखि कायम रहेका वर्तमान समस्या, राष्ट्रिय गौरव तथा अन्य भौतिक पूर्वाधार आयोजनाको कार्यान्वयनमा देखिएका चुनौती, व्यवसायीहरूको भुक्तानी (रकमान्तर) को मुद्दा, ठेक्का व्यवस्थापन तथा समग्र नीतिगत सुधारका विषयमा केन्द्रित भएर संवाद र सुझाव आदानप्रदान हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विकासे आयोजनाहरूलाई गति दिन र सार्वजनिक खरिद प्रक्रियालाई थप व्यावहारिक बनाउन यो छलफललाई महत्त्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस