काठमाडौं । विश्वकै व्यस्त र रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यमा अमेरिकी मार्गनिर्देशन प्रयोग गर्ने व्यापारिक जहाजहरू इरानको निशानामा पर्न थालेका छन् । पछिल्लो पटक एक जहाजमाथि भएको आक्रमणपछि विश्व समुद्री व्यापार र ऊर्जा आपूर्तिमा थप गम्भीर चुनौती उत्पन्न हुने चिन्ता विश्लेषकहरूले व्यक्त गरेका छन् ।
समुद्री रणनीति अध्ययन संस्था ‘सेन्टर फर मेरिटाइम स्ट्राटेजी’का वरिष्ठ अनुसन्धानकर्ता इयान राल्बीका अनुसार पछिल्ला केही सातादेखि होर्मुज पार गर्ने जहाजहरूले तीनवटा फरक समुद्री मार्ग प्रयोग गर्दै आएका थिए । पहिलो मार्ग इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले स्वीकृत गरेको हो, जुन हाल सबैभन्दा बढी प्रयोग भइरहेको छ। दोस्रो मार्ग अन्तर्राष्ट्रिय सामुद्रिक संगठन र ओमानले स्वीकृत गरेको दक्षिणी समुद्री मार्ग थियो, तर लगातारका आक्रमणपछि उक्त मार्ग केही दिनमै स्थगित गरिएको छ ।
राल्बीका अनुसार तेस्रो मार्ग अमेरिकी मार्गनिर्देशनअनुसार ओमानको तटीय क्षेत्र हुँदै सञ्चालन भइरहेको छ र पछिल्लो आक्रमणमा परेको जहाज पनि यही मार्गमा गुडिरहेको थियो । यसले अमेरिकाले उपलब्ध गराएको मार्गनिर्देशनलाई नै इरानले लक्षित गरिरहेको र त्यसको प्रतिरोध गरिरहेको संकेत गर्छ ।
यस परिस्थितिले अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूलाई निकै अप्ठ्यारो अवस्थामा पुर्याएको छ । अब व्यापारिक जहाजहरूसँग अमेरिकी मार्ग प्रयोग गरेर आक्रमणको जोखिम मोल्ने वा इरानले स्वीकृत गरेको मार्ग रोज्ने विकल्प मात्र बाँकी रहेको विश्लेषकहरूको भनाइ छ । विश्वकै व्यस्त ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले अन्तर्राष्ट्रिय व्यापारसँगै कच्चा तेलको आपूर्तिमा पनि ठूलो असर पार्ने चिन्ता बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस