काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेल निर्धारित ९० मिनेटमा १–१ को रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल निर्धारित समयमा टुङ्गो लाग्न नसकेपछि अब विजेताको फैसला अतिरिक्त समय वा पेनाल्टी सुटआउटबाट हुनेछ ।
खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारमा एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको स्विट्जरल्यान्डका लागि ६७औँ मिनेटमा रिकार्ड रोड्रिगेजको पासमा डान एनडोएले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए ।
खेलको ७२औँ मिनेटमा फाउल गरेपछि स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलोले दोस्रो पहेँलो (रातो) कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो । त्यसपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो ।
एक खेलाडी बढी हुनुको फाइदा उठाउँदै अर्जेन्टिनाले लगातार आक्रमण बुने पनि निर्धारित समयमा गोल थप्न सकेन । खेलको अन्त्यतिर कप्तान लियोनल मेसीले विजयी गोल गर्ने सुवर्ण अवसर पाएका थिए । सो प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगर कोबेलले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाको जितको प्रयासलाई असफल पारिदिए ।
यस खेलको विजेताले सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गर्नेछ ।
प्रतिक्रिया दिनुहोस