काठमाडौं । सुस्ताएको घरजग्गा बजारमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंक र मालपोत विभागको तथ्यांकअनुसार यस अवधिमा देशभर १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७ अर्ब रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो। लिखत पारित हुने दर ०.६२ प्रतिशतले बढ्दा राजीनामा कारोबार भने १२.१७ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यही अवधिमा राजीनामा कारोबार ३.२६ प्रतिशतले घटेको थियो।
देशका ६ महानगरपालिकामा पनि घरजग्गा कारोबारमा उल्लेखनीय सुधार देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ महानगरपालिकामा ६ हजार ९०३ वटा जग्गाको लिखत पारित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ हजार ५८५ रहेको थियो।
महानगरहरूमध्ये काठमाडौं महानगरपालिकामा कारोबार वृद्धि सबैभन्दा तीव्र देखिएको छ। गत वर्ष २९४ वटा लिखत पारित भएकोमा चालु वर्षको सोही अवधिमा १०८.४ प्रतिशतले बढेर ५६९ पुगेको छ।
कारोबार संख्याका आधारमा भने पोखरा महानगरपालिका अग्रस्थानमा रहेको छ। पोखरामा २ हजार १५३ वटा लिखत पारित भएका छन्। भरतपुर महानगरपालिकामा १ हजार ९६४ वटा लिखत पारित भई दोस्रो स्थानमा रहेको छ। वीरगञ्ज महानगरपालिकामा ९८३ वटा कारोबार भएका छन्, जुन अघिल्लो वर्ष ७५० थियो। विराटनगरमा ७२४ र ललितपुर महानगरपालिकामा ५११ वटा लिखत पारित भएका छन्।
क्षेत्रफलका आधारमा हेर्दा साना आकारका जग्गाको कारोबार बढी भएको देखिन्छ। २.५ देखि १० आनासम्मका जग्गाको ४ हजार ७३६ वटा लिखत पारित भएका छन्, जबकि अघिल्लो वर्ष यस्तो संख्या ३ हजार ४७ थियो। २.५ आनासम्मका १ हजार ११२ वटा, १० देखि २० आनासम्मका ६१६ वटा र २० आनाभन्दा माथिका ४८९ वटा जग्गाको लिखत पारित भएको तथ्यांकले देखाएको छ।
तथ्यांकले पछिल्ला महिनाहरूमा घरजग्गा बजार क्रमशः चलायमान बन्दै गएको संकेत गरेको छ। कारोबार रकम, लिखत पारित तथा राजीनामा कारोबारमा आएको वृद्धिले बजारमा लगानीकर्ताको सक्रियता बढ्दै गएको देखिएको छ।
प्रतिक्रिया दिनुहोस