logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

    तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

    1.5K
    Shares
    तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

    काठमाडौं । सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

    राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। साथै उनीहरुले डेङ्गु रोगको सम्भावित जोखिम नियन्त्रणका लागि प्रभावकारी योजना कार्यक्रम ल्याउन पनि माग गरे ।

    सांसद इन्दिरादेवी गौतमले पछिल्लो समय काठ तस्करी, खोलानालाबाट गिट्टी बालुवा उत्खनन र चोरी निकासी भइरहेको र यसबाट राज्यको करोडौँ राजस्व गुमेको भन्दै तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद गङ्गाकुमारी बेल्वासेले पालिकास्तरमा महिला विकास तथा उत्थान प्रवद्र्धन र महिला सशक्तीकरणका लागि महिला विकास शाखा स्थापना गर्न माग गरिन् । सांसद गोपाल भट्टराईले देशमा तस्करको बिगबिगी बढेको, भ्रष्टाचार तथा अनियमितता पनि बढेको भन्दै प्रभावकारी छानविन गरी मौलाउँदो तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी भएको उल्लेख गरे।

    सांसद जगप्रसाद शर्माले हालै सप्तकोशी नदीमा भएको ट्रक दुर्घटनामा पानीमा डुबेका व्यक्तिलाई स्थानीय चन्दर मुखिया नामका व्यक्तिले उद्धार गरी बचाएको र उनी लामो समयदेखि दाउरा निकाल्ने, माछा मार्ने र यस्तै दुर्घटनामा परेकाको उद्धार गर्ने कार्यमा संलग्न रहँदै आएको भन्दै राज्यले उनलाई सिपयुक्त क्षमता, प्रतिभा र साहसको कदर गर्दै आवश्यक प्रक्रिया पु¥याएर गोताखोरमा नियुक्त गर्न माग गरे ।

    सांसद तारामान स्वाँरले सुदूरपश्चिमका सबैजसो जिल्ला र विशेषगरी कैलाली र कञ्चनपुर क्षेत्रमा लागुऔषधको तस्करी र ढुवानीकर्ताको बिगबिगी बढिरहेको र यसले अपराधजन्य घटनासमेत बढाइरहेको भन्दै यसलाई नियन्त्रण गरी कानुनी दारयामा ल्याउन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए।

    सांसद तुलसाकुमारी दाहालले भूमिहीन दलित र सुकुम्बासीलाई सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराइन्। सांसद मायाप्रसाद शर्माले सिंहदरबार परिसरको राष्ट्रिय अभिलेखालयको संरक्षण सम्वद्र्धनमा दक्ष जनशक्ति, भौतिक, प्राविधिकलगायतका सामग्रीको सुनिश्चित गर्न ध्यानाकर्षण गराए ।

    सांसद मृगेन्द्रकुमार सिंह यादवले ‘लम्पी स्किन’ महामारीको रोकथाम नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। सांसद विमला घिमिरेले दिनहुँ तस्करीका समाचार बढिरहेको र बुधबार मात्रै धेरै परिणामको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको भन्दै उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिइन् ।

    साथै उनले काठमाडौँ महानगरमा फोहरको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन सामाधान खोज्न ध्यानाकर्षण गराइन् । सांसद शारदादेवी शर्माले डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद सुमित्रा विसीले डेङ्गु नियन्त्रणका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् । उनले महामारी फैलनुपूर्व आवश्यक सचेतना अभिवृद्धि र नियन्त्रणका सबैखाले तयारी गर्न पनि आग्रह गरिन् ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend