logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • इमेज सहकारी ठगी प्रकरणमा मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

    इमेज सहकारी ठगी प्रकरणमा मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

    1.2K
    Shares
    इमेज सहकारी ठगी प्रकरणमा मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

    पोखरा । जिल्ला अदालत बागलुङले सहकारी ठगी प्रकरणमा पक्राउ परेका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार अदालतमा थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो । यस्तै इमेज सहकारी ठगी प्रकरणमै पक्राउ परेका उनका दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

    बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपाली बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष थिए । शुक्रबार भारतको नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो ।

    सहकारी संस्थाका एक हजार ५४३ जना बचतकर्ताको जाहेरीमा जिल्ला अदालत बागलुङमा २०८० असार २५ गते उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो ।

    सरकारी वकिलको कार्यालयले सहकारीका अध्यक्ष नेपालीसहित ११ जनाविरुद्ध एक अर्ब ५४ करोड रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दायर गरेको छ ।

    सहकारी ठगी मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    बागलुङको ढोरपाटन नगरपालिकामा दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका नेपालीले सहकारीको रकमबाट घरजग्गामा र व्यक्तिगत स्वार्थमा लगाउनेदेखि हेलिकप्टर चढेर हिँडडुल गर्ने, विभिन्न ठाउँमा आर्थिक सहयोग गर्ने गरेको बताइएको छ ।

    कृत्रिम सेयरधनी कायम गराई रकम हिनामिना गरेको, संस्थाको नाममा बैंकबाट लिएको कर्जा बापतको किस्ता रकम बैंकलाई भुक्तानी नै नगरी हिसाब मिलान गरेको, पीडितहरुलाई धेरै ब्याज दिने प्रलोभन देखाई सम्पत्ति शुद्धीकरण निवारण ऐनविपरीत काम गरेको अभियोग उनीमाथि लागेको छ ।

     

    यो पनि :

    सहकारी ठगी प्रकरणमा भारतबाट पक्राउ गरिएका देवकुमारलाई नेपाल ल्याइयो

    इमेज सहकारीमा २ अर्ब ठगीको आरोप लागेका मेयर नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend