
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट परिवर्तनको लडाईं शुरु भएकाले पूरा गरेरै छोड्ने बताएका छन् ।
बिहीबार चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए । उनले चितवन देवभूमि भएकाले चितवनवासीहरु पनि देतता जस्तै रहेको बताए ।
उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्वन गरिएकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘प्रतिक्रिया दिने बेला त भएको होइन, तर मेरो निर्वाचन क्षेत्र चितवन भएकाले चितवनले मेरो न्यायका लागि लामो समयदेखि प्रयास गर्नुभएको छ । चितवन देवभूमि हो, सबैलाई थाहा छ । देवताको बास भएको ठाउँ हो ।
यहाँ देवता जस्ता मान्छे बस्नुहुन्छ । त्यसकारणले मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न नै छैन । म पूर्ण रुपमा विश्वस्त नै छु । चितवनवासी आमाबुबा, दिदिभाईहरुले मेरो न्यायका लागि बारम्बार लड्नुभएको छ ।’
‘चितवनवासीले दुई दुई पटक निर्वाचित गरेर मलाई पठाइसक्दा जालझेल पूर्ण ढंगले सांसद पदलाई निलम्वन गरिएको छ । म चितवनवासी मतदातालाई के भन्न चाहन्छु भने यो प्रश्रव पीडा हो । चितवनले परिवर्तन जन्माउन खोजेको छ । त्यसको संकेत दिएको छ ।
मुलुककै परिवर्तन जन्माउन तत्पर रहेको चितवनले धेरै काम गरेको छ । परिवर्तनको जन्म भएरै छोड्छ । चितवनले शुरु गरेको परिवर्तन पूरा हुन्छ । यसमा कोही रुनु पर्दैन’, उनले भने ।
उनले परिवर्तनको लडाईं अझै बाँकी रहेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend