नारायण वाग्ले । पत्रकार, लेखक र पछिल्लो समय अभियन्ता पनि । यतिखेर उनी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै बृहत नागरिक आन्दोलनसँग जोडिएर सडक संघर्षमा छन् । सडकमा उनले दिएको अभिव्यक्ति बालुवाटारसम्म मज्जैले गुन्जिएको छ । तब त बालुवाटारमा बसेका ‘बा’ का स्वघोषित छोराहरु वाग्लेविरुद्ध सामाजिक सन्जालमा अरिङ्गालको गोलो बनेर जाई लागिरहेका छन् । उनलाई ‘डलरे’ र ‘दलाल’ घोषणा गरिरहेका छन् । हिजोसम्मको एउटा भलादमी पत्रकार, सम्पादक र लेखक आज एकाएक ‘सिनो सेना’ को आँखाको कसिङ्गर बनेको छ । हिजो पनि छिटफुट रुपमा (अ) सामाजिक सन्जालमा वाग्लेलाई निशाना नबनाइएको भने होइन । तर आज उनी यस्तो बागी बनेका छन्, जसकाविरुद्ध सत्ताका सेवकहरु अशिष्ट र अश्लील गाली बर्साइरहेका छन् ।
केही दिनअघिमात्रै वाग्लेले बोल्दै नबोलेको कुरा राख्दै एउटा मिमसमेत बनाइयो । वाग्लेको फोटो राखेर बनाइएको मिममा उनले भनेको भन्दै लेखिएको छ, ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ । त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ । धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनुपर्छ । पूजापाठ बन्द गरिनुपर्छ ।’ चिनिएका ‘सिनो सेना’ बाट भ्रामक प्रचारका लागि सामाजिक सन्जालमा राखिएको यस्तो मिमले थुप्रै आम प्रयोगकर्तालाई पनि झुक्यायो । माघ १२ गते बृहत नागरिक आन्दोलनले ‘बालुवाटार मार्च’ गरेको थियो । त्यो शान्तिपूर्ण मार्चमा प्रहरीले दमन गरेपछि वाग्लेले त्यसको भत्सर्ना गर्दैै आफ्नो मन्तब्य पनि राखेका थिए । ‘आज जो बालुवाटारमा बसेका छन् नि, यिनले देशभरि पहिले मन्दिर बनाँउछु भन्दै हिडेँ । अब पूजा आरती गर्दै हिँड्दै छन् । यिनले संविधान पढेको छन् कि छैनन् ? त्यो संविधानमा के लेखेको छ ? त्यो संविधानमा धर्मनिरपेक्षता लेखेको छ । यिनले खलबल्याउन खोजेको त संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्वसहितको लोेकतन्त्र नै हो,’ त्यसदिन वाग्लेले धर्मको सवाल जोडिएको भनिएको विषयमा गरेको टिप्पणी यत्ति हो ।
खासमा सन्जाल र जन्जालका स्वघोषित छोराहरुलाई चित्त नबुझेको कुरा अर्कै थियो । त्यसदिन वाग्लेले उनीहरुका ‘बा’ लाई लक्षित गरेर भनेका थिए, ‘जनताको प्रतिनिधित्व गर्दै बालुवाटारमा आज जो साथी हुनुहुन्छ, उहाँले लोकतन्त्र, चेक एण्ड ब्यालेन्सको सिस्टम भत्काउनलाई सम्पूर्ण महत्वपूर्ण एजेन्सीहरु आफ्नो मातहतमा लानुभयो । तर त्यो प्रधानमन्त्री जो कहिल्यै पनि सिंहदरबार जाँदैन । त्यो प्रधानमन्त्री जहिले पनि निजी निवासमा बस्दछ, निजी निवासमा नेपालको स्वतन्त्र न्यायपालिका प्रमुखलाई दर्शनभेट लिनलाई बाध्य बनाउँछ, निजी निवासमा प्रमुख प्रतिपक्षको नेतालाई भाग–शान्ति गर्न बोलाउँछ, त्यसकारण नै यो प्रतिगमन सम्भव भएको छ । हामीले गहिरोसँग बुझ्न पर्छ साथीहरु यो प्रतिगमन कसरी सुरु भयो ? सुरुकै दिनदेखि प्रधानमन्त्रीले सम्पूर्ण जनआन्दोलनहरुलाई घात गर्ने अभिव्यक्ती दिँदै, कुनै पनि परिवर्तनको कुराहरु नमान्दै, शासकीय शक्ति सन्तुलनसमेत खल्बल्याएर बालुवाटारको निजी निवासलाई नेपालको श्री ३ जंगबहादुरको जस्तो निजी निवास बनाए, त्यहीबाट यो प्रतिगमन सुरु भयो ।’
यतिमात्र होइन, उनले अगाडि भने, ‘उनका मान्छेहरु भन्दै थिए, प्रधानमन्त्रीविरुद्द षड्यन्त्र भइरहेछ । के षड्यन्त्र भएको रहेछ भनेको त अविश्वासको प्रस्ताव आउँदै थियो रे । त्यही अविश्वासको प्रस्ताव आउँछ भन्ने डरले संसदै भंग गरिदिने ? अनि के भन्छन् भने अविश्वासको प्रस्ताव आउने मात्र होइन, उहाँलाई त खाली खुट्टा नै बालकोट हिँडाउनेवाला थिए, बालकोट फर्काउनेवाला थिए रे । अरे बाबा, खाली खुट्टा हातमा चप्पल लिएर दौडेको नेपाली जनताले ल्याएको प्रजातन्त्र, लोकतन्त्र हो कि होइन यो ? उनले खाली खुट्टा हिँड्न नहुने ? अर्को कुरा । हिजो नारायणहिटीबाट नागार्जुन जान हुने, आज बालुवाटारबाट बालकोट फर्कन नहुने ? त्यसकारण साथीहरु उनको अहंकारको श्रीपेच फुकालेरै छाड्नको लागि यो नागरिक आन्दोलन अब जुर्मुराएको छ र हामी अगाडी बढेका छौँ ।’ त्यसै दिन उनले तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष पनि गरे । खासमा ‘सिनो सेना’लाई आफ्ना ‘बा’प्रतिको उनको यो ललकार मन नपरेको हो । वाग्लेका यि अभिव्यक्तिमा तर्क गर्नसक्ने क्षमता ‘सिनो सेना’मा थिएन । त्यसैले धर्मसँग जोडेर वाग्लेलाई खुइल्याउने जुक्ति निकाले । तर उनीहरुले बिर्से, वाग्ले शारीरिक रुपलेमात्र होइन, स्वाभिमानको हिसाबले पनि उनीहरुका ‘बा’भन्दा कयौ गुणा अग्लो व्यक्तित्व हो । त्यसैले त उनीहरु यतिखेर वाग्लेलाई ताकेर थुकेको आफ्नै थुकले लत्पतिएर घिनाउने बनेका छन् ।
खासमा ‘सिनो सेना’लाई आफ्ना ‘बा’प्रतिको उनको यो ललकार मन नपरेको हो । वाग्लेका यि अभिव्यक्तिमा तर्क गर्नसक्ने क्षमता ‘सिनो सेना’मा थिएन । त्यसैले धर्मसँग जोडेर वाग्लेलाई खुइल्याउने जुक्ति निकाले । तर उनीहरुले बिर्से, वाग्ले शारीरिक रुपलेमात्र होइन, स्वाभिमानको हिसाबले पनि उनीहरुका ‘बा’भन्दा कयौ गुणा अग्लो व्यक्तित्व हो । त्यसैले त उनीहरु यतिखेर वाग्लेलाई ताकेर थुकेको आफ्नै थुकले लत्पतिएर घिनाउने बनेका छन् ।
त्यही नारायण वाग्लेले त्यसको २ दिनअघिमात्रै आफ्नो चेतनाको रापले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पोल्ने गरी प्रहार गरेको थियो । उनीहरुकै सामुन्नेमा वाग्लेले भनेका थिए, ‘तपाईहरु भन्दै हुनुहुन्छ, हाम्लाई मांशाहारी आन्दोलन चाहियो । अरे बाबा हिजोको घाइतेहरुको घाउ अझै आलै छ हो । कसरी तपाईहरु हिंसाको उद्धत गर्न चाहनुहुन्छ ? यो प्रधानमन्त्री फेर्ने आन्दोलन हो, म प्रश्न गर्न चाहन्छु ? यो प्रधानमन्त्री फेर्ने आन्दोलन हो भने नागरिक फेरि सडकमा आउँदैनन् । तपाईहरु प्रतिबद्धता फेर्ने हो कि, होइन ? प्रतिबद्धता फेर्ने आन्दोलन हो भने तपाईहरुले भन्न सक्नुपर्छ कि तपाईहरुले कहाँ–कहाँ गल्ती गर्नुभयो ?’ त्यसबेला दाहाल र नेपालको अनुहार हेर्न लायक थियो । वाग्ले ‘सिनो सेना’का ‘बा’को प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्धमात्र बोलिरहेका छैनन् । उनी त संसद विघटनपछि अर्को कित्तामा पुगेका दाहाल–नेपाललाई पनि आफ्ना विगतका कर्मप्रति आत्मालोचित हुँदै भविश्यमा गल्ती–कमजोरी नदोहोरिने प्रतिबद्धता व्यक्त गर्न खबरदारी गरिरहेका छन्, लाचार बनिरहेको प्रमुख प्रतिपक्षी र अन्य प्रतिपक्षी दलको भूमिकामाथि पनि प्रश्न उठाइरहेका छन् । र जिम्मेवारी बोधका साथ एउटा सचेत नागरिकको भूमिका निर्वाह गरिरहेका छन् । तर ‘सिनो सेना’ले उनलाई रातारात ‘डलरे’को पगरी गुथाइदिएको छ । तपाईको स्मरणमा पक्कै हुनुपर्छ, ‘डलरे’ हुनुअघिसम्म वाग्ले ‘भारतीय दलाल’ थिए । थाह नभएको भए एकपटक पुनःस्मरण गरौ ।
मुलुक संविधान निर्माणको अन्तिम चरणमा थियो । तिनताका नारायण वाग्लेले आफ्नो चर्चित स्तम्भ पिपलबोट डटकमलाई संविधान निर्माण प्रक्रियामा केन्द्रित गरेका थिए । उनले धारावाहिक रुपमा संविधान निर्माणका सकसहरुको गुत्थी सुल्झाउने किसिमले कलम चलाइरहेका थिए । त्यहीक्रममा २०७२ भदौ २५ मा उनले सेतोपाटीमा ‘जानाजान द्वन्द्व’ शीर्षकमा एउटा लेख लेखेका थिए । त्यो लेखको एउटा पंक्ति यस्तो थियो, ‘भारत नेपालमा संविधान निर्माण कसरी होला भन्ने चाहन्छ भन्ने कुनै प्रश्न नै रहेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आएर प्रष्ट भाषामा हिन्दीमै भनिदिइसकेका हुन्– अंकगणीत से नही होगा । अहिले त हाम्रो संविधानसभा अंकगणीतबाटै अघि बढ्न खोजिरहेको छ । त्यो अंकगणीत पनि अन्तिमसम्म कायम रहला, नरहला तर तीन ठूला दलले खोजेको त त्यही हो । भारत कसरी खुशी होला त नेपालसँग ?’ त्यसबेला मधेसवादी दलहरु संविधानसभा बहिश्कार गरेर सडकमा थिए । मधेस आन्दोलन उत्कर्षमा थियो । सत्ताको दमनका कारण मधेसमा दिनहुँ मानिसहरु मरिरहेका थिए । मधेस पूर्णत अशान्त र असन्तुष्ट थियो । त्यसैबीच दक्षिणी छिमेकी भारतका खुफिया, ब्युरोक्रेसी र राजनीतिक सबै तहका प्रतिनिधिहरुको ओहोरदोहोर बाक्लिएको थियो । वाग्लेका सबै लेखलाई एक ठाउँमा राखेर हेर्ने हो भने, उनको लेखनीको सार थियो, ‘देशभित्रका असन्तुष्टिलाई सम्बोधन नगरी संविधान जारी गर्ने हो भने बाह्य पक्षले खेल्ने मौका पाउँछन् । त्यसैले पहिले घरभित्रको समस्या सम्बोधन गर ।’ नेपाल–भारतका थुप्रै उच्च अधिकारीका सार्वजनिक बयानअनुसार सात राजनीतिक दलबीच दिल्लीमा भएको १२ बुँदे समझदारीमा उसको भूमिका स्पष्ट थियो । एक अर्थमा १२ बुँदेको एउटा साझेदार भारत पनि थियो । र राजनीतिक दलहरुले भनिरहेका थिए, संविधान निर्माण प्रक्रिया १२ बुँदेकै निरन्तरता हो । यस्तोमा साझेदार मानिसकेपछि भारतलाई छलेर होइन, उसका चासो पनि सुनेर अघि बढ्नु स्वभाविक प्रक्रिया हुने थियो । उसका कुरा नै मान्न पर्छ भन्ने लघुताभाष त्यागिदिनुस् न । घरेलु राजनीतिको परिवेश बुझाएर हाम्रा कुरामा उसलाई मनाएर संविधानमा उसको पनि समर्थन लिन सक्नुपथ्र्यो । जतिसुकै अजाति भए पनि छिमेकी त फेर्न सकिन्न नि । कि १२ बुँदेमा उसलाई आमन्त्रण गरिनुहुन्थेन, एउटा साझेदार मानिसकेपछि भागेर, छलेर हैन परिस्थितिको सामना गरेर अघि बढ्नुपथ्र्यो ? भारत सदैव नेपालमा आफू नियन्त्रित अस्थिरता चाहन्छ भन्ने कुरा के हामीले बुझेका छैनौ वा थिएनौ र ? आखिर हामीले संविधान जारी गरेपछि भारतले नाकाबन्दीसम्म गरेर हामीलाई अस्थिर बनाउने कोशिस गरेन त ?
धारावाहिक शृङ्खलाअन्तर्गत वाग्लेले लेखेको एउटा लेखमा परेको वाक्यांश थियो, ‘भारत कसरी खुशी होला त नेपालसँग ?’ बस फुर्सदिला हामीलाई काण्ड पुगिहाल्यो । त्यसपछि त वाग्लेले छोरीसँग खेल्दै गरेको फोटो ट्विटरमा पोस्ट गर्दै केही लेख्थे, सन्जालका नकावपोसहरु जाई लाग्दै मेन्सन गरिहाल्थे, ‘के यसरी भारत खुसी होला त ?’ नारायण वाग्ले लेख्थे, ‘मेरो दोस्रो उपन्यास मयुर टाइम्स पुनर्लेखन गर्दै छु ।’ त्यसमा पनि मेन्सन हुन्थ्यो, ‘के यसरी भारत खुसी होला त ?’ वाग्लेलाई भारतसँग जोड्ने दोस्रो परिघटना बन्यो, कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उनको पुनरागमन । पूर्वसहकर्मीहरुले छाडेपछि नारायण वाग्ले दोस्रोपटक २०७५ असार २९ मा कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नियुक्त भए । त्यसबेला हल्ला चलाइएको थियो कि, कान्तिपुरमा भारतीय लगानी भित्रियो । भारतको प्रतिष्ठित दैनिक टाइम्स अफ इन्डियाका रजनीश रिखी कान्तिपुरको व्यवस्थापन हेर्न भित्रिएका थिए । त्यसपछि वाग्लेले लेख्ने सामाजिक विषयका सम्पादकीयमा पनि एकथरीले भारतीय प्रभाव देख्न थाले । र भन्न थाले, ‘अब त भारत खुशी होला है ?’ तिकडम नजान्ने वाग्ले दोस्रोपटक एक वर्ष एक महिनामै कान्तिपुरबाट बाहिरिए । स्मरण शक्ति कमजोर भएका हामी कतिपयले बिर्सेम् वा बिर्सेझै ग-यौ, यो त्यही नारायण वाग्ले थियो जसले कालापानीको स्थलगत रिर्पोटिङ गरेर पहिलोपटक सार्वजनिक सन्चार माध्यममा भारतले नेपाली भूमि मिचेको तथ्यको खुलासा गरेको थियो ।
भारतको बाह्य गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विङ् (रअ) का प्रमुख सामन्त गोयल गत कात्तिक पहिलो साता नेपाल आए । प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय मर्यादा बिर्सेर निजी निवास बालुवाटारमा आधा रातसम्म खासखुस गरे । त्यसबेला देखि नै आफूलाई प्रधानमन्त्रीबाट हटाए कुर्सी भाँचिदिने, संसद विघटन गर्ने धम्की दिन थालेका थिए ओलीले । मंसिर दोस्रो साता भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला आए, राजनीतिक भेटघाट गरे । पुस ५ मा त ओलीले प्रतिनिधि सभा विघटन नै गरिदिए । विघटनपछि थप समर्थन खोज्न माघ पहिलो साता ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारत पठाए । यस्तोमा ‘भारतीय दलाल’ भनिएका वाग्लेले त प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको समर्थन गर्नुपर्ने हो । तर वाग्ले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै हुर्रिएर सडकमा आइपुगेका छन् । ओलीलाई बालुवाटारबाट बालकोट पठाउने कुरा पो गरिरहेका छन् त । अहिले त मलाई पनि सोध्न मन लाग्यो– यसरी भारत खुशी होला त नारायण दाइ ?
भिडियो पनि हेर्नुहोस् :