
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताए । उनले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए ।
उनले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरे । उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु आवश्यक रहेको बताए । देशका सबै वामपन्थी एक हुनुपर्ने उनले बताए ।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब ०८४ आउँदैछ । ०८४ को लागि काँग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । राम्रो तयारीमा छ । ०८४ मा काँग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ ।
एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ । यदी अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ । ’
पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले दक्षिणपन्थी बाटो अंगालेको बताए ।
नेकपा (एकीकृत समाजवादी) ले पनि सोही बाटो बिराएको बताए । उनले कांग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend