
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु सल्बलाएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष दाहालले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतिपूर्ण रहेको दाबी गरे । उनले सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको बताए । उनले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवा स्वप्ना देख्ने गरेको बताए ।
उनले सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसावले प्रयोग गर्ने कोशिस गरिरहेको बताए ।
उनले भने, ‘अहिले देशमा राजनीतिक परिस्थिति अलि चुनौतिपूर्ण नै छ । आजै पनि तपाईंले मिडियामा हेर्नुभयो होला सरकारको पर्फमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ, जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसावले प्रयोग गर्ने कोशिस पनि गरिरहेका छन् ।
मलाई लाग्छ तपाईंहरु सबैले यो कुरालाई महशुस गरिरहनुभएकै छ । अझ त्यसमा पनि इतिहासमा इतिहासको एउटा रछ्यानमा मिल्क्याइएका तत्वहरु पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवा स्वप्नमा छन् र त्यस खालका प्रचारबाजीहरु पनि भइरहेका छन् ।’
अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली कांग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरु हुन् भनेको आरोप लगाए । उनले अहिले देश ग्रे लिस्टमा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको बताए । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त भनेको पनि बताए ।
अध्यक्ष दाहालले भने, ‘अहिले फेरि नेपाल आर्थिक रुपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले बढो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त छ । ठगहरु हुन् यि पार्टीहरु भनेर काँग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईं हामीले देखिरहेका छौँ ।’
अध्यक्ष दाहालले अब माओवादी केन्द्र संघ र प्रदेशमा प्रतिक्रियावादी र दलालहरुसँग मिलेर सरकार बनाउनेतिर नजाने दाबी गर्दै आफ्नो खुट्टामा उभिने बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend