काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको पानी शनिबार सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी शनिबार सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको हाे ।
शनिबार सुन्दरीजलमा पानी आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।
परीक्षण सफल भएमा तीन महिनभित्र काठमाडाैंका घर घरमा मेलम्चीकाे पानी पुर्याउने सरकारकाे लक्ष्य छ । याे आयाेजनाकाे सुरुङ निर्माण गत वर्ष सकिएको थियो । निर्माण सकिएपछि समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो ।
उक्त परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो । मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो । आयोजनाको मुहानबाट साढे २६ किमी लामो सुरुङ पार गर्दै पानी सुन्दरीजल आइपुग्नेछ । यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ ।