logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सूर्य नेपाल च्यालेन्ज: पहिलो दिन २ स्ट्रोकको अग्रता सहित रबिको शीर्षता कायम

    सूर्य नेपाल च्यालेन्ज: पहिलो दिन २ स्ट्रोकको अग्रता सहित रबिको शीर्षता कायम

    6.4K
    Shares

    काठमाडौं । पुर्व नम्बर एक गल्फर रबि खड्का मंगलबार देखी आयोजना भएको सूर्य नेपाल च्यालेन्जको पहिलो दिन २ स्ट्रोकको अग्रता लिँदै शीर्षता कायम गरेका छन् । रोयल नेपाल गल्फ कोर्स, एयरपोर्टमा रबि खड्काले मंगलबार ६ अन्डर ६२ को सानदार प्रदर्शन गर्दै सुर्य नेपाल च्यालेन्जको‌ पहिलो दिन २ स्ट्रोकको अग्रता सहित शीर्षता कायम गर्न सफल भएका हुन । प्रतियोगिताको पहिलो दिन रबिले दीपक मगर र भुवन कुमार रोक्कालाई दुई स्ट्रोकले पछि पार्न सफल भएका हुन । रबिले फ्रन्ट नाइन बोगी रहित खेलेका हुन । पहिलो, दोस्रो, चौथो र पाँचौ होलमा बर्डीको सफलता प्राप्त गरे । फ्रन्ट नाइन ४ अन्डर ३० मा सकाएका थिए । त्यसपछि १४ औ‌ होलमा एक सट खेर फाले भने दशौ, सत्रौ र अठारौ होलमा‌ एक एक सट बचाएर ब्याक नाइन दुई अन्डर ३२ स्कोर गर्दै ‌उत्कृष्ट सुरुवात गरे ।

    उता भेट्रान गल्फर दीपक मगर र भुवन कुमार रोक्का चार अन्डर ६४ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् । नम्बर एक गल्फर भुवन नगरकोटी र सुर्य प्रसाद शर्माले ३ अन्डर ६५ सहित चौथो स्थान बाडे । एमेच्योरतर्फ दुई अन्डर ६६ को स्कोरमा सुबाश तामाङ शीर्षस्थानमा छन् ।

    ७२ होलको चार दिने प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाएका छन् । ३६ प्रोफेसनल र २० एमेच्योर खेलाडीको सहभागिता रहेको छ । कुल ५ लाख ४५ हजारको पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख प्राप्त गर्नेछ ।

    बक्सिङ मिनु क्वाटरफाइनलमा

    विभागीय टोली त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । बसन्तपुर डबलीमा मंगलबार भएको प्रतिस्पर्धामा महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन ।

    सोही स्पर्धामा एपीएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराइन् । सन्जु पनि क्वाटरफाइनलमा पुगिन् । महिला ५७ केजीमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरेका छन् ।

    वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउदै क्वाटरफाइनलमा पुगेका छन् । पुरुष ५७ केजीमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए ।

    पुरुष ६३ केजीमा एपीएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुन मगरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावल तथा अनिलले प्रदेश १ का तोबिन प्रधानको चुनौती पन्छाए । पुरुष ६९ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सचिन शाक्य तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई निराश पार्दै क्वाटरफाइनलमा स्थान पक्का गरे । पुरुष ७५ केजीमा क्वाटरफाइनलमा पुग्न सफल आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाले ।

    प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सोही अवसरमा १३ औं सागका स्वर्णधारी मिनुसहित भुपेन्द्र थापा मगर र सनिल शाहीलाई नगदसहित सम्मान गरियो । उनीहरुलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत १–१ लाख नगद पुरस्कार प्रदान गरे ।

    प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीको सहभागिता रहेको छ । प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने छ । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend