logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आधारभूत तहका लागि ‘सडक सुरक्षा शिक्षा’ पुस्तक सार्वजनिक

    आधारभूत तहका लागि ‘सडक सुरक्षा शिक्षा’ पुस्तक सार्वजनिक

    2.7K
    Shares
    आधारभूत तहका लागि ‘सडक सुरक्षा शिक्षा’ पुस्तक सार्वजनिक

    काठमाडौँ । ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारभूत तहका लागि ‘सडक सुरक्षा शिक्षा’ पुस्तक सार्वजनिक गरेको छ । बालबालिकालाई विद्यालयदेखि नै सडकको प्रयोग, सडकपेटी र यससँग सम्बन्धित अन्य पूर्वाधारका विषयमा जानकारी, सतर्कता र सुरक्षाका विषयमा व्यवहारिक शिक्षा दिने उद्देश्यले ‘सडक सुरक्षा शिक्षा’ पाठ्यक्रम ल्याएको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

    ‘सडक महानगरको जीवनरेखा हो । साँघुरो बन्दै गरेको शहरलाई प्रभावकारी ढंगले उपयोग गर्न सहरी पूर्वाधारहरुको उचित प्रयोग जरुरी हुन्छ,’ उनले भने, ‘सडक, आकाशे पुल, सब–वे, सडकपेटी, साइकल लेनहरुको प्रयोगका बारेमा विद्यालयस्तरमै हासिल गरेका ज्ञानले हाम्रो जस्तो सीमित पूर्वाधारमा पनि सुरक्षित भएर असीमित फाइदा प्राप्त गर्न सकिन्छ ।’

    साइकल लेनको सफल सुरुवात गरेको ललितपुर महानगरले सहरी सुरक्षाको महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको सडक र सवारीसँग सम्बन्धित विषयलाई पाठ्यक्रममै समावेश गरेको महानगरप्रमुख महर्जन बताउँछन् । ‘सडक सुरक्षा शिक्षा’ पाठ्यक्रममा सडकमा हिड्दा ध्यान दिनुपर्ने कुराहरु, सडकपेटीको प्रयोग, बाटो काट्ने तरिका, ट्राफिक संकेतहरु, हेल्मेट र सिटबेल्टको प्रयोग, आकाशे पुलरसब वे को प्रयोग, बसमा यात्रा गर्दा ख्याल गर्नुपर्ने कुराहरु समेटेको छ ।

    त्यस्तै, बालबालिकालाई विद्यालयस्तरमै मादक पदार्थ सेवन र सेवनगरी सवारी चलाउँदा हुने क्षतिबारे ज्ञान, सडक दुर्घटना तथा बच्ने उपाय, प्राथमिक उपचार बारेको ज्ञान दिन आधारभूत तहका विद्यार्थीका लागि पाठ्यक्रम तयार गरेको महानगरले जनाएको छ । उक्त पाठ्यपुस्तकमा आदेशमूलक तथा प्रतिबन्धात्मक ट्राफिक चिह्न, जानकारीमूलक ट्रापिक चिह्न, चेतावनीमूलक ट्राफिक चिह्नसमेत समेटेको छ । उक्त पाठ्यपुस्तकमा चित्र, कथा र प्रश्न समेटेको छ । बालबालिकाले कथाको माध्यमबाट पढ्न र बुझ्न सक्छन् ।

    महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेंथुको सम्पादनमा प्रकाशित ‘सडक सुरक्षा शिक्षा’ स्थानीय पाठ्पुस्तक सोमबार एक समारोहबीच ललितपुरस्थित सेन्ट जेभियर स्कुलमा सार्वजनिक गरिएको हो । नेपालमा मृत्युको चौथो कारक सडक दुर्घटना रहेकाले यसको न्यूनीकरण गर्नका लागि पुस्तक ल्याइएको महानगरले जनाएको छ । सडक सुरक्षाका दृष्टिले उक्त पुस्तक अत्यन्तै प्रभावकारी र व्यावहारिक हुने महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend