logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो गर्नुपर्छः माधव नेपाल

    प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो गर्नुपर्छः माधव नेपाल

    1.3K
    Shares

    काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुने बताएका छन् ।
    शुक्रवार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा दलहरुका बीचमा आलोपालो हुने बताएका हुन् ।

    उनले प्रदेश सरकारहरु धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए । उनले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरुका बीचमा बाँडफाँट हुने बताए । कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माण्मा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताए ।

    उनले भने– ‘कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ? अरुलाई बडो उपदेश दिने मान्छेहरु । जब जनताले नै भने कि तपाईहरु मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरी गर्छन् के ? किनकी त्यो पार्टीसँग पनि कार्यकर्ता हुन्छन् । जनमत पनि हुन्छ । त्यसो हुनाले अरु पार्टीको भावनालाई पनि ध्यानमा राख्नुपर्छ । नीतिमा मिल्नुपर्छ । नीति र कार्यक्रम मिल्नुप¥यो । त्यसपछि पार्टीको सन्तुलनलाई पनि ध्यानमा राख्नुप¥यो । त्यसकारण हाम्रो पार्टी प्रदेश सरकारहरुमा सहभागि हुनेछ । कसरी हुन्छ ? कतिजना हुन्छ ? भन्ने कुराहरु बसेर छलफल भइसकेपछि टुंगो लाग्नेछ । एउटै पार्टीको बहुमत नभएको हुनाले अरु पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखेर अरुले पनि दाबी गर्ने स्थितिमा गठबन्धनका अरु घटकले पनि मौका पाउनेछन् । यसमा को–को सहभागि हुने हुन् अझै स्पष्ट छैन ।’

    अध्यक्ष नेपालले समाजवादमा प्रतिवद्ध हुने पार्टीहरुका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताए । उनले नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जसपा एकतावद्ध हुने कुरा पनि भइरहेको बताए । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरुसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए ।

    उनले भने– ‘समाजवाद बाहेक नेपालको विकासको अर्को कुनै सम्भावना छैन । समाजवाद भनेको समानता र सामाजिक न्याय, विकास र समृद्धिको अर्को नाम हो । त्यसमा प्रतिवद्ध भएको पार्टीहरुको बीचमा हामी समाजवादी मोर्चा बनाउने सोच बनाइरहेका छौँ । यसको निम्ति नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई एकतावद्ध गर्नुको साथसाथै नेकपा विप्लव समूहसँग पनि कुरा भएको छ । अरु पार्टीहरुसँग पनि हामी कुरा गर्न गइरहेका छौँ । यो समाजवादी मोर्चा बनेको खण्डमा एकातर्फ समाजवादप्रतिको हाम्रो प्रतिवद्धतालाई र राज्यमा सुशासनको प्रत्याभुति गर्ने कुरालाई, जनताको पीर मर्कालाई सम्बोधन गर्ने कुरालाई त्यसले केन्द्रबिन्दुमा राख्नेछ । साझा विषयमा सहकार्य गर्न हामी सबैसँग हातेमालो गर्नेछौँ । विचार, सिद्धान्त, नीति मिलेका पार्टीहरुका बिचमा पार्टी एकताको पहल गर्नेछौँ ।’

    उनले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरु सँग विलय भने नहुने स्पष्ट पारे । आफूहरु समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरुपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend