logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • एकीकृत समाजवादीका मन्त्रीबारे पार्टीभित्रै उठ्यो प्रश्न

    एकीकृत समाजवादीका मन्त्रीबारे पार्टीभित्रै उठ्यो प्रश्न

    1.8K
    Shares
    एकीकृत समाजवादीका मन्त्रीबारे पार्टीभित्रै उठ्यो प्रश्न

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका काम कारबाहीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

    कात्तिक १९ बस्ने गरी सचिवालय बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा र राष्ट्रिय महाधिवेशनबारे बैठकका एजेण्डा राखिएको छ’, उपमहासचिव समेत रहेका खतिवडाको भनाइ छ ।

    एकीकृत समाजवादीका अर्का एक पदाधिकारीका अनुसार त्यसबाहेक पार्टीको ‘अन्तर पार्टी निर्देशन’ अपानी–११ को विवादबारे समेत सचिवालय बैठकमा छलफल गर्ने तयारी छ । अपानी ११ मा नेताहरुको जिम्मेवारी हेरफेर र मनोनयनको विषयलाई लिएर विरोध भइरहेको छ ।

    विरोधपछि बसेको पछिल्लो सचिवालय बैठकले अपानी सच्याउने भने पनि अहिलेसम्म सच्याएको छैन । ‘अपानी–११ सच्याउने भनियो तर अहिलेसम्म सच्याइएको छैन’, ती नेताले भने, ‘सचिवालयको निर्णय नै कार्यान्वयन हुँदैन भने पार्टी कसरी चल्छ ?’

    त्यस्तै सचिवालय बैठकमा पार्टीका तर्फबाट मन्त्री भएकाहरुको ‘परफर्मेन्स’बारे समेत छलफल हुने भएको छ । ‘पार्टीका तर्फबाट मन्त्री भएकाहरुको परफर्मेन्स अत्यन्त कमजोर भएकाले प्रश्न उठेको छ । उनीहरुको विकल्पमा पार्टीमा अब छलफल हुन्छ’, ती नेताको भनाइ छ ।
    नेकपा एकीकृत समाजवादीबाट नेता डा. बेदुराम भुसाल कृषि मन्त्री छन् भने प्रकाश ज्वाला भौतिक योजना तथा निर्माण मन्त्री छन् । तर मन्त्री भएको लामो समयसम्म पनि जनताका पक्षमा देखिने गरी कुनै एउटा काम पनि गर्न नसकेकाले प्रश्न उठ्न पुगेको भन्दै पार्टीभित्र उनीहरुको परफर्मेन्सबारे छलफल गर्ने नेताहरुको तयारी छ ।

    ‘एकीकृत समाजवादीले हालै देशव्यापी जागरण अभियान सम्पन्न गरेको छ । अभियानमा कृषि क्षेत्रमा क्रान्तिकारी रुपान्तरण गर्नुपर्छ । जनताको उत्पादन सरकारले किन्नुपर्छ र कृषिबाट जनताले बचत गर्न सकेमात्रै मानिसहरु कृषिमा लाग्छन् ।
    कृषिमा रोजगारी पनि बढ्छ । त्यसो गर्दामात्रै सरकार भएको अनुभूति हुनसक्छ । यो काम हाम्रा कृषिमन्त्रीले गर्नुपर्छ तर उहाँ कहाँ हुनुहुन्छ, कुनै अत्तोपत्तो छैन’, ती नेताले भने, ‘अब कि हाम्रा कृषिमन्त्रीले जनताको उत्पादन सरकारले किन्ने वातावरण बनाउनुपरयोया कुर्सी छोड्नपरयो ।’

    त्यस्तै अर्का मन्त्री प्रकाश ज्वालाको काम कारबाही पनि चित्तबुझ्दो नरहेको भन्दै पार्टी नेताहरुले व्यापक असन्तुष्टि जनाएका छन् । ‘ज्वाला कहाँ दन्कियो त ? यत्तिका समय के के काम भयो ? जनताका पक्षमा हाम्रा मन्त्रीहरुले के के काम गरे ? भोलि जनतामा जाँदा हामीले यो यो काम गर्यौँ भनेर कुन विषयलाई देखाउने ? यी र यस्ता धेरै प्रश्न उठेका छन् । यसबारे बैठकमा अवश्य छलफल हुन्छ’, एक सचिवालय सदस्यको भनाइ छ ।

    उनका अनुसार मन्त्री भएकाहरुले झण्डा हल्लाउने र तलबभत्ता खानेबाहेक केही काम नगरेकाले पार्टीले तिहारलगत्तै मन्त्री परिवर्तन गर्नसक्ने सम्भावना छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend