२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

काठमाडौं-तराई द्रुतमार्गको ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’ हुने

शनिवार , फाल्गुण ५, २०८०

निजगढ, बारा। राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माण ३१ प्रतिशत सकिएको छ। चालू आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए ।

“ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ। केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन्। मुद्दा मामिलामा पनि गएका छन्। तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, उनले भने।

खरिद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरुपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ। राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरु कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुङ्ग्याउन सक्नुपर्ने पोखरेल बताउछन्।

करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा ४ दशमलव ६, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा ७ दशमलव ६ किलोमिटर पर्दछ। आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ। प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ। पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरिद प्रक्रिया टुङ्गिन सकेको छैन। अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ।

त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ। यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया सुरु हुन सकेको छैन। अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङ बताउछन्।

खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन्। अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६ दशमलव ४१ किलोमिटरमध्ये ४ दशमलव ३२ किलोमिटर अर्थात् ६७ दशमलव ४३ प्रतिशत खन्ने काम सकिएको छ।

लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए। एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ।

महादेवटार सुरुङमार्गको लम्बाइ ३ दशमलव ३५ किलोमिटरमध्ये हालसम्म एक दशमलव ९४ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ १ दशमलव ६३ किलोमिटरमध्ये हालसम्म एक दशमलव १७ किलोमिटर सुरुङ खनिसकेको छ। लेनडाँडा सुरुडमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म १ दशमलव २० किलोमिटर सुरुङ खनिएको छ।

महादेवटार सुरुङमार्गको लम्बाइ ३ दशमलव ३५ किलोमिटरमध्ये हालसम्म एक दशमलव ९४ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ १ दशमलव ६३ किलोमिटरमध्ये हालसम्म एक दशमलव १७ किलोमिटर सुरुङ खनिसकेको छ। लेनडाँडा सुरुडमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म १ दशमलव २० किलोमिटर सुरुङ खनिएको छ।

आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन्। सबै सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ। यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ ३ दशमलव ३५, धेद्रे सुरुङ एक दशमलव ६३ तथा लेनडाँडा सुरुङ एक दशमलव ४३ किलोमिटर छ।

त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन्। यसको कुल लम्बाइ १२ दशमलव ८८५ किलोमिटर हुनेछ। बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन्। त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन्।

हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका कुल दुई दशमलव ८० पाउन्डेसन पाइलमध्ये एक दशमलव ६६ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

द्रुतमार्गको सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको छ। आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार ४ सय १६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार दुई ४४ र व्यक्तिगत जग्गा ५ हजार एक सय ७२ रोपनी रहेको छ। अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा ५ हजार एक सय ७२ रोपनीमध्ये हालसम्म चार हजार सात सय ७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ।

तीन सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । खोकना–बुङ्गमती क्षेत्रमा दुई सय १४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने एक सय ६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन। यो क्षेत्रमा कुल तीन सय ७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ।

आयोजनाका लागि हालसम्म कटान गरिएका रुखको बदलामा १ अनुपात २५ का दरले वृक्षरोपण गरिएको सेनाले जनाएको छ। आयोजनाका लागि कूल सात लाख चार हजार चार सय ४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोप्ने कार्य सकिएको छ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो। आयोजनाको २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा शिलान्यास गरेका थिए। विसं २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो।

सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्रयाक निर्माणको काम थालिएको थियो। गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्याइएको थियो । त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो । यसबाट लागत घट्ने अनुमान गरिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
ताजा अपडेट