काठमाडौँ । शहरलाई विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोवास भएको सुन्दर बस्ती नै शहर हो । शहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही शहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा शहरमै केन्द्रित हुन्छन् ।
हामीकहाँ शहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा शहर विकास भएको देखिन्छ । अहिले धेरै गाउँघर शहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै शहरमा करोडौं मानिसको बसोवास पनि भइरहेको देखिन्छ । पुरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ ।
पुरानो काठमाडौंको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले शहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरु छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं शहरलाई कंक्रिटको शहर भनिएको होइन । पुरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो तर अहिले कंक्रिटको पहाड बनेको छ ।