सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

ऋषि पञ्चमी पर्वमा टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

ऋषि पञ्चमी पर्वमा टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौँको टेकूस्थित ऋषेश्वर महादेव मन्दिर परिसरमा आज पञ्चमी पूजा लगाउँदै भक्तजन । रजस्वलाका समयमा महिलाबाट छाइछुईलगायत कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन सप्तऋषिको पूजा आराधना गरेमा वा पञ्चमी पूजा लगाएमा त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिका तिजको व्रत समापनका लागि गोदान, पूर्णपात्रो लगायत धार्मिक कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । रजश्वलाका समयमा कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारीलाई रजश्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन व्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

आज काठमाडौंको टेकु, मुलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend