logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • कांग्रेससँग मिलेर जनमत गुमाएकालाई सवक सिकायौँ : शंकर पोखरेल

    कांग्रेससँग मिलेर जनमत गुमाएकालाई सवक सिकायौँ : शंकर पोखरेल

    868
    Shares
    कांग्रेससँग मिलेर जनमत गुमाएकालाई सवक सिकायौँ : शंकर पोखरेल

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र) लाई सवक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताएका छन् ।

    महासचिव पोखरेलले २७५ सिटको संसदमा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठूला दल कांग्रेस-एमालेले त्यो सम्भव छैन भन्ने सन्देश दिनेगरी सत्ता सहकार्यलाई अघि बढाउनुपरेको बताएका हुन् ।

    बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आगामी निर्वाचनमा पनि कांग्रेस-एमालेबीच सत्तापक्ष र प्रतिपक्षको भुमिका निर्वाह गर्नेगरी एकल चुनावी प्रतिष्पर्धा गरेर अघि बढने सहमती भएको बताए ।

    जनमत गुमाउँदै गएको माओवादीले संसदमा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि आफूहरुले सत्ता सहकार्य गरेर त्यसको जवाफ दिने अवस्था आएको महासचिव पोखरेलको भनाई थियो ।

    महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि सरकारले संविधानमा परिमार्जन गर्न चाहेको पनि दोहोर्याए ।

    उनले भने, ‘अहिले हाम्रो पार्टीको अगुवाईमा नेपालका २ प्रमुख पार्टीहरु मिलेर मुलुकलाई अघि बढाउने संकल्प र अठोट गरेका छौँ । र, हामीले भनेका छौँ–स्थायित्वको आधार खोजी गर्नका लागि संविधानको रिभ्यु गर्नेछौं । कानुनको पुनरावलोकन गर्नेछौँ ।

    संरचनागत सुधार गर्नेछौं । त्यसका माध्यमबाट मिशन २०८४ अर्थात २०८४ सालमा हुने चुनावमा प्रमुख पार्टीहरु कसैसँग गठबन्धन नगरी आफ्नो नीतिको जगमा जनताका बीचमा गएर बहुमत प्राप्त गर्न प्रयत्न गर्नेछौँ भन्ने कुराको संकल्प र अठोट गरेका छौं । त्यस अर्थमा नेपालको राजनीतिमा अहिले एक प्रकारले भन्ने हो भने जनमत गुमाएकाहरुले शासन गर्ने जुन प्रकारको लोकतन्त्रको मजाकको विषय बनाइएको परिस्थिति छ ।

    तपाईहरुले पनि सुन्न भएको होला एक समय । २७५ सिट भएको संसदमा ३२ नम्बर त म्याजिक नम्बर । यही ३२ नम्बरले पाँच वर्ष नै शासन गर्छ भन्ने हुँकार पनि सुन्नु भयो । हो त्यो हुँकारलाई हामीले दुई वटा राजनीतिक दल मिलेर अव त्यो सम्भव छैन भन्ने कुराको सन्देश दिने प्रयत्न गरेका छौं ।

    अव मुलुकको सत्तापक्ष र प्रमुख प्रतिपक्ष सबभन्दा ठूलो दलले शासन चलाउने र दोस्रो ठूलो दलले प्रतिपक्षको भूमिका खेल्न सक्ने आधार निर्माण गर्नेगरी मुलुकको राजनीतिलाई डोहोर्याउनु पर्दछ भन्ने मान्यताका आधारमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर अघि बढन खोजिराखेका छौं ।’

    महासचिव पोखरेलले जनमत गुमाएकाहरुले शासन गर्ने काम लोकतन्त्रको मजाकको विषय भएकाले त्यसको अन्त्य आफूहरुको रहेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend