२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

शुक्रवार , कार्तिक ३०, २०८१

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ।

कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ । यही परम्पराअनुसार मिथिलानी यो पर्व समापनको तयारीमा जुटेका छन् ।

यो पर्व समापन गरिँदा मिथिलानीले सामा खेलमा प्रयोग गर्ने सतभैया, हात्ती, वृन्दावन, चुगला, सामा र चखेवाका माटाका आकृति दाजुभाइबाट फुटाउन लगाइ जोतिएको खेत वा निर्जन वनमा गाड्ने चलन छ ।

पर्व समापनमा अवसरमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायूको कामना गर्दै मीठा परिकार खान दिन्छन् । यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिन्छन् ।

सामाचखेवा पर्वका ११ दिन मिथिला क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्यको वर्णन गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ । बोलीचालीमा ‘सामा खेल’ पनि भनिने यो पर्व दिदीबहिनी र दाजुभाइका लागि आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ ।

पर्वका ११ दिनको मध्यरातसम्म चौबाटोमा समूहमा एकत्र भएर आफ्ना दाजुभाइको पराक्रमको वर्णान गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आफूहरुबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको मिथिलानी बताउँछन् । गीतमार्फत आफूहरुप्रति दिदीबहिनीले दर्शाएका प्रेम र समर्पण भावले आफूहरूको मनोवल सधैँ उच्च रहने मैथिल युवा भङ्गाहा–४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुर बताउँछन् ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँचहजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मानिन्छ । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधरसँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटेले कृष्णलाई सुनाउँदा छोरी स्वच्छन्द प्रवृत्तिकी भएको झोँकमा दुवैलाई सामा र चखेवा हुने श्राप दिएको पौराणिक कथा छ ।

श्रीकृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चखेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका वर्णन पनि पुराणमा पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचखेवा पर्वको परम्परा बसेको मिथिला लोकपरम्पराका जानकार सहप्राध्यापक ध्रुव राय बताउँछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट