२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

हेलो रोबोट ! तिम्रो नाम के हो ?

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौँ ।

हेलो रोबोट !

तिम्रो नाम के हो ?

न्युटन स्कुलका रिपेक्स कार्कीले रोबोटको छेउमा पुगरे जिस्कँदै उसको नाम सोधे । मानव आकृतिको रोबोटले आफ्नै परिचय दिँदै गयो । कार्कीले सुनेर रमाइलो मान्दै अरु थप जिज्ञासा राख्न थाले । यतिबेला बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डमा भइरहेको ‘स्टार्टप एण्ड आइडिया फेस्ट–२०२४’ मा रोबोटसँग भलाकुसारी गर्न पाउँदा युवाहरूको आकर्षण बढेको छ ।

खासगरी विद्यार्थीहरूले रोबोटको रमाइलो खेलसँगै ज्ञान आर्जन गर्ने अवसर पाएका छन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको फेस्टमा रोवटिक्स एकेडेमी अफ नेपालद्वारा निर्मित पाँच वटा रोबोट प्रदर्शनमा राखिएका छन् । भोटिङ सिस्टम रोबोट तीन वटा राखिएका छन् भने ‘इन्फ्रमेसन डिस्प्ले’ रोबोट, ‘टकिङ एसिस्टेन्स’ रोबोट छन् ।

सबैभन्दा आकर्षणको केन्द्र टकिङ एसिस्टेन्स रोबोट रहेको छ । जुन भाषामा जे प्रश्न सोध्यो उही उत्तर दिनसक्ने सफ्टवेयर जडान भएकाले यसलाई टकिङ एसिस्टेन्स रोबोट नामकरण गरिएको रोवटिक्स एकाडेमी अफ नेपालका रोवटिक्स इञ्जिनीयर अविरल भण्डारीले बताए ।

करिब चार महिना लगाएर टकिङ एसिस्टेन्स रोबोट निर्माण गरिएको भण्डारीले जानकारी दिए । “पछिल्ल्लो समय मान्छे एक्लो भइरहेको छ । आइपरेका समस्यालाई सुल्झाउन साथी खोज्नुपर्ने झण्झट छँदैछ । व्यस्त समयमा मानिसले एकअर्कालाई समय दिन नपाउँदा मानिस एक्लो बन्दै गएको छ”, उनले भने ।

समयको सदुपयोगलाई ध्यानमा राखेर सहज रूपमा सहकार्य गर्ने र कुराकानी गर्ने रोबोट निर्माण गरिएको इञ्जिनीयर भण्डारीले सुनाए । मानवीय एक्लोपन हटाउन यो रोबोटले धेरै हदसम्म सहयोग गर्ने उनको भनाइ छ । “टकिङ रोबोटमा जे प्रश्न जुन भाषामा सोध्यो त्यही उत्तर दिने सहजता छ । साथै यसमा कार्ड स्क्यानरदेखि किनमेलका सामग्रीको जानकारीसमेत पाउन सकिने प्रणाली जडान गरिएको छ”, उनले भने, “एउटै रोबोटले कुराकानी गर्ने, सूचना दिनेदेखि किनमेलमा सघाउँछ । यसले समयको पनि बचत गर्ने विश्वास लिएका छौँ ।”

रोबोट एकेडेमी अफ नेपालका एआई इञ्जिनीयर तेजस कट्वालले घरायसी प्रयोजन (हाउस होल्ड) का लागि बनाइएका रोबोट बढी लोकप्रिय हुँदै गएका बताए । “खाना पकाउनेदेखि खुवाउनेसम्मका प्रक्रियामा रोबोट सहयोगी छन् । कोभिड महामारी जस्तो स्वास्थ्य सङ्कटका बेलामा रोबोटलाई ज्वरो मापन गर्ने यन्त्रका रूपमा प्रयोगमा ल्याउँदा सहज भएको थियो”, उनले भने । एकाडेमी स्वास्थ्यमा सेवा पुर्‍याउने किसिमका नर्स रोबोट बनाउने योजनामा रहेको उनले जानकारी दिए ।

कक्षा ८ का विद्यार्थी निसान थापामगर रोबोट मेसिनले मानवीय जीवनमा पुर्याउने सहजता देखेर उत्साहित देखिन्थे । भविष्यमा इञ्जिनीयर बन्ने सपना बोकेका उनले रोबोट निर्माण गर्न आइटी ज्ञान प्रशस्त हुनुपर्ने जानकारी लिएका थिए ।

कार्यक्रममा रोबोट मात्रै नभई मानवीय जीवन व्यवस्थित बनाउने खालका थुप्रै सिर्जनात्मक सीपमूलक उत्पादन प्रदर्शन गरिएका छन् । धुम्रबराह माध्यमिक विद्यालयकी कक्षा ९ की विद्यार्थी निरुता मगरले वातावरण प्रदूषण न्यूनीकरण गर्न बायोग्यास उत्पादन गर्ने तरिका नमुनाका रूपमा प्रस्तुत गरेकी छन् । “बायोग्यासले पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा निकै फाइदा पुग्छ”, उनले भनिन्, “यसको महत्व हामीले पहिला बुझ्न सकेनौँ । त्यही बुझाउन नमुना (डेमो) देखाएका छौँ ।”

मगरको प्रस्तुतिमा बायोग्यास प्रयोग गर्न सके वायु प्रदूषण रोकिने, वनजङ्गलको संरक्षण हुने र राज्यको अर्थतन्त्रमासमेत सुधार आउने आधार झल्किन्छन् । बायोग्यासका थुप्रै फाइदा हुँदाहुँदै पनि प्रयोग नभएकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, “राम्रो कामको सुरुआत हामी युवाले नै गर्नुपर्छ भन्ने लागेर नमुना प्रस्तुत गरेकी हुँ ।”

आइटीसम्बन्धी सिर्जनात्मक ज्ञान आर्जन गराउने उद्देश्यले फेस्ट कार्यक्रम आयोजना गरिएको लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बताए । कार्यक्रमले यसवा तथा विद्यार्थीलाई सकारात्मक सन्देश दिने अपेक्षा लिइएको उनले उल्लेख गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट