logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छ : कृषिमन्त्री अधिकारी

    सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छ : कृषिमन्त्री अधिकारी

    119
    Shares
    सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छ : कृषिमन्त्री अधिकारी

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीलाई मुलुकको प्रमुख आम्दानीको स्रोतको रुपमा विकास गर्नुपर्ने बताएका छन् । शुक्रबार २० औँ राष्ट्रिय कफी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले निजी क्षेत्रका लगानीकर्ताहरुलाई कफी खेतीतर्फ आकर्षित गर्न सरोकारवालाहरुसँग आग्रह गरेका हुन् ।

    उनले कफी खेती गर्ने कृषकलाई उत्साहका साथ खेतीमा लाग्न आग्रह गर्दै सरकार कफी खेतिको प्रवद्र्धनका लागि प्रतिवद्ध बताए । उनले मध्यपहाडमा रहेको बाँझो जमिनमा कफी खेती बढाउनसके देशको अर्थतन्त्र उकास्नका लागि महत्वपूर्ण सहयोग मिल्ने बताए । उनले जलवायु परिवर्तनको असरका बाबजुद नेपाली कफीले पाएको अन्तर्राष्ट्रिय बजारबाट सन्तुष्ट हुनुपर्ने बताए । आर्थिक स्रोतको अभावमा देशको विकास नभइरहेको भन्दै कफी खेती देशको अर्थतन्त्रको मुख्य स्रोत बन्नसक्ने उनको विश्वास थियो ।

    मन्त्री अधिकारीले भने, ‘नेपाली कफीको उत्कृष्टता र भविष्यमा यसको सम्भावनाको बारेमा सोच्ने, योजना बनाउने र प्रेरणा प्राप्त गर्ने दिन भएको कारणले यस दिनमा कफी राष्ट्रीय महासंघ लगायतका संस्थाहरुले कफी उत्पादन जोगाउन आवश्यक छ । जलवायु परिवर्तनको असरका बाबजुद नेपालको अराबिका कफीले अन्तर्राष्ट्रिय रुपमा जुन बजार पायो यसमा सन्तुष्ट हुनुपर्ने कारणहरु छन् । कफी खेती गर्ने कृषकहरु उत्साहका साथ खेती बढाउनमा लाग्नुस् । कुनै समय देशभित्र नै व्यापार कम हुने कफी आज जर्मनी, अमेरिका र जापान जस्ता विश्वका विकसित मुलुकहरुमा पुगेको छ भन्ने कुरामा गर्व गर्नुपर्दछ ।

    कफीको विकासका लागि नेपाल सरकार, कृषि मन्त्रालयको तर्फबाट सुधारका लागि हामीले के के गर्नुपर्यो ? तपाईहरु सुझाव दिनुस् । हामी कफी खेतीको विकासका लागि गर्नुपर्ने कामका लागि प्रतिवद्ध छौं । हामी कृषक साथिहरुले अन्य नागरिकलाई समेत कफी खेती गर्नका लागि आह्वान गरौँ । निजी क्षेत्रका लगानीकर्ताहरुलाई कफी खेतीबाट हुने मुनाफाबारे जानकारी दिएर आकर्षित गर्नसक्छौं भनेर बुझाउनुस् । पछिल्लो समय नेपाल सरकारले मध्यपहाडी भेगमा बाँझो जमिन धेरै भयो मान्छेहरुको बस्ती सर्यो अब के गर्न सकिन्छ भनेर मन्त्रिपरषद्मा कुरा उठाएका छौं ।

    त्यो बाँझो रहेको जग्गा र अराबिका कफी उत्पादन गर्न सकिने अन्य ठाउँहरुमा भूमिसुधार मन्त्रालय, जलस्रोत मन्त्रालय र कृषि मन्त्रालय मिलेर त्यसको व्यवस्थापन गर्नसक्दा हामीले राम्रो मुनाफा कमाउन सक्ने स्थितिहरु रहन्छ । यसमा काम गर्नेगरी योजना बनाइरहेका छौं । बाँझो जमिनमा कफी खेती बढाउन सक्यौं भने देशको अर्थतन्त्र उकास्नका लागि महत्वपूर्ण सहयोग मिल्छ ।

    पैसा नभएर देशको विकास हुन सकेन भनिरहेको अवस्थामा आम्दानीको प्रमुख स्रोतको रुपमा कफी खेति बनोस् । त्यसका लागि मैले सम्हालेको मन्त्रालयको तर्फबाट मैले के भुमिका निर्वाह गर्नुपर्छ त्यो सबै भुमिका निर्वाह गर्नका लागि म सधैं तयार रहेको कुरामा प्रतिवद्ध छु ।’

    आउँदो आर्थिक वर्षको बजेटको समय नजिकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले व्यवसायीहरुको सुझावको आधारमा कफी खेतीको योजनालाई बजेटमा समावेश गर्ने आश्वासन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend