काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरुलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमवार एक समारोहका बीच पोर्टल सार्वजनिक गरेको हो ।
कार्यक्रमकाबीच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्व र उपयोगिताबारे जानकारी दिए । उनले कार्यालयले उत्पादन गरेका तथ्याङ्कहरुलाई थप उपयोगमैत्री बनाउन र प्रयोगकर्ताको सहज पहुँचका लागि पोर्टल सञ्चालनमा ल्याइएको बताए ।
उनले राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्याङ्कको केन्द्रीय निकाय भएको उल्लेख गर्दै कार्यालयले सार्वजनिक गर्ने तथ्याङ्क सत्य र वस्तुनिष्ठ हुनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्यांकको केन्द्रीय निकाय हो । यस कार्यालयले लामो समयदेखि विभिन्न किसिमका तथ्यांकहरु उत्पादन गर्दै आएको छ । आर्थिक सामाजिक वातारणीय लगायतका तथ्यांकहरु सार्वजनिक गर्दै आएको छ । तथ्यांकको महत्व तब मात्र हुन्छ जब यसको प्रयोग गरिन्छ । प्रयोग भएन भने त्यो तथ्यांक उत्पादनका लागि मात्र उत्पादन गरिन्छ । त्यसैले हामीले तथ्यांकको प्रयोगलाई बढाउनुपर्छ भन्ने मुख्य उद्देश्यले हामीले उत्पादन गरेका तथ्यांकहरु प्रयोगकर्ताहरु समक्ष सहज ढंगले पुगोस् भनेर यो पोर्टलको विकास गरिएको हो । पहिले पहिले रिपोर्टहरु पिडिएफ र एक्सेलमा राख्ने गरेका थियौं । त्यसमा सबैको पहुँच थिएन । त्यसैले पोर्टलको निर्माण गरेका हौं ।’
पोर्टलमा कार्यालयले उत्पादन गर्ने आर्थिक तथा सामाजिक क्षेत्रका तथ्याङ्कहरु सार्वजनिक गरिने उनले बताए ।