काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ। पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अध्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरेका छन् ।
पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन्।
त्यस बाहेक थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी पनि पार्टीले दिएको छ।
महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अध्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।
उनले कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अध्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै, प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अध्यावधिक गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्दै आएको छ।
कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँगाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगतमा अरुले फाराम भरिदिँदा केही सदस्यता फर्जि पनि हुन सक्ने भएकाले धेरै सदस्यता देखिएको र अहिले आफैले अनलाईनबाट भर्नु पर्ने भएकाले वास्तविक सदस्यता विवरण तयार हुन लागेको नेताहरुले बताएका छन्
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने, “विगतमा नेताहरूले अरूको नाममा आफैं फाराम भरिदिँदा देखिने ‘फर्जी संख्या’ भन्दा अहिले कार्यकर्ता आफैं सचेत भएर अनलाइन फाराम भर्दा संख्या केही कम देखिनु नितान्त स्वाभाविक र यथार्थ हो।”
उनका अनुसार तोकिएको समयसीमाभित्र आफ्नो सदस्यता अनलाइन प्रणालीमा दर्ता गराउने क्रियाशील सदस्य मात्रै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्। “समय घर्किसकेपछि रोएर, कराएर वा केन्द्रीय कार्यालयमा नाराबाजी गरेर कुनै सुनुवाइ हुनेवाला छैन,” उनले भने।
विगतमा सदस्यको नामबाहेक अन्य विवरण व्यवस्थित रूपमा अभिलेखीकरण नहुने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित र अद्यावधिक हुन लागेको छ।
“कांग्रेसलाई प्रविधिमैत्री बनाएर १५औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने अभियान अत्यन्त उत्साहजनक र सन्तोषजनक रुपमा आज सकिदैछ । आज राति १२ बजेसम्म आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अध्यावधिक गर्नु नै कांग्रेसका हरेक इमानदार सिपाहीको बुद्धिमानी हुनेछ,” केन्द्रीय सदस्य शिवाकोटीले भने ।
प्रतिक्रिया दिनुहोस