२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

अबको केही दिन पश्चिम नेपालमा बदली, चिसो बढ्ने

आइतवार , पौष ७, २०८१

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताइन् । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उनले बताइन् ।

मौसमविद् कँडेलले भनिन्, “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ ।” प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असरमात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट