काठमाडौं । बैंकबाट लिएको ऋण तिर्न त्रिवेणी ग्रुपले सञ्चालन गरेको घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।उद्योगले ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६ सय ४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
घोराहीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० बराबर ७।५ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद सेयर निष्कासन प्रस्ताव पेश गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा दाङ, घोराही उपमहानगर पालिका १५ मा रहेको होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ । उद्योग नोक्सानमा रहेकाले सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छैन् ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा उद्योग ५१ करोड ३७ लाख ७४ हजार रुपैयाँ खुदनोक्सानमा रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष १९ करोड ८८ लाख रुपैयाँ नोक्सानमा थियो । घोराहीले पहिलो त्रैमाशमा सिमेन्ट ६६ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
उद्योगले सगरमाथा पिपिसी र सगरमाथा गोल्ड ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।