काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन् ।
आईतबार बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल बारसँग आफ्नो परिषद्को हैसियतमा पनि कुनै विमति नरहेको बताए । उनले प्रधानन्यायाधीशलाई संविधानले नै निश्चित कामहरु तोकिदिएको उल्लेख गर्दै आफ्नो लागि निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको बताए ।
उनले बारका लागि आफूले वैधानिक तवरबाट कति सम्बोधन गर्नसकिन्छ भन्ने मात्रै प्रश्न रहेको बताए । बारको अतित गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान कस्तो छ र वर्तमान परिवेशमा बारको भुमिका, गतिविधि, क्रियाकलाप र कामकारबाही आउने पुस्ताको लागि गौरवपूर्ण हुनसक्छ की सक्दैन भन्ने प्रश्न रहेको बताए । यसबारे बार आफैँले वृहंगम छलफल गर्नुपर्ने बताए ।
प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुको पेशालाई मर्यादित र समृद्ध बनाउन आवश्यक रहेको बताए। कानून व्यवसायीहरुले निष्ठालाई कायम राखेर मात्रै निष्पक्ष न्याय दिनसक्ने उनले बताए ।
पेशा मर्यादित नभएसम्म कानून व्यवसायीहरु सफल हुन नसक्ने बताए । उनले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने बताए ।