२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

कोशी प्रदेशको गौरवको आयोजना ‘कोशी रिफ्रेसमेन्ट सेन्टर’ लगानी सम्मेलनको शो केशमा राखिने

सोमवार , पौष ८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारको एक महत्वपूर्ण आयोजना रिफ्रेसमेन्ट सेन्टरलाई प्रदेश सरकारको बजेटले मात्र संचालन गर्न कठिन हुने भएकाले निजी क्षेत्रलाई हस्तान्तरण गर्न लगानी सम्मेलन २०८१ को आयोजना शो केशमा राखिने भएको छ ।

मन्त्रीपरिषद्को कात्तिक २९ गतेको बैठकले नै उक्त निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले जानकारी दिए । सरकारले कात्तिक ११ गते रिफ्रेसमेन्ट सेन्टरको स्थलगत अनुगमन गरि आयोजना सोकेशमा राख्ने निर्णय गरेको मन्त्री राईले बताए । २ अर्ब लगानीको कोशी रिफ्रेसमेन्ट सेन्टर शो केशमा राखिएको छ ।

सुनसरीको कोशी गाउँपालिका खण्डमा प्रदेश सरकारले कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण सुरु गरेको थियो । तर बजेट अभावमा काम निकै सुस्त छ ।

पूर्वपश्चिम राजमार्गमा लामा तथा छोटा दुरीका सवारी साधन रोक्न, यात्रुलाई खाना तथा खाजा खान र आराम गर्न प्रदेश सरकारले २२ बिघा क्षेत्रफलमा रिफ्रेसमेन्ट सेन्टर बनाउने योजना अघि सारेको थियो । त्यसका लागि ४७ लाख ६ हजार रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन बनाएको थियो । प्रतिवेदनका अनुसार परियोजनाको काम दुई चरणमा गर्ने उल्लेख छ । पहिलो चरणमा ५७ करोड ७८ लाख र दोस्रो चरणमा एक अर्ब ५० करोड ५५ लाख रुपैयाँको काम गर्ने प्रदेश सरकारको योजना थियो ।

पहिलो चरणको कामका लागि संरचना निर्माण गर्न तीन वर्ष अघि ठेक्का लागेको थियो । २०७५ माघ २४ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले परियोजनाको सुरुवात गरेका थिए र परियोजना हेर्ने गरी छुट्टै कार्यालय पनि खडा गरेका थिए । २०७७ मंसिर २४ गते तत्कालिन मुख्यमन्त्री राईले शिलान्यास गरि परियोजनाको औपचारिक सुरुवात गरेका थिए ।

तर, २४ चैत २०७८ मा राजेन्द्र राई मुख्यमन्त्री भएका बेला कार्यालय खारेज गरिदिए । राईले १५ वैशाख २०७९ मा सो आयोजना विराटनगरस्थित शहरी विकास तथा भवन कार्यालयले हेर्ने निर्णय गराए ।

२०७७ पुसबाट सुरु भएको पहिलो चरणको काम आधा मात्र सकिएको छ । पहिलो चरणको संरचना निर्माणका लागि कबिन्द्र सिर्जनशील जेभीले ३० करोड ४३ लाख ८२ हजार रुपैयाँमा ठेक्का पाएकामा करिब ११ करोड रुपैयाँको काम गरेको छ । उसले प्रशासनिक भवन, प्रहरी कार्यालय, स्वास्थ्य चौकी, रेस्टुरेन्ट र ट्राफिक पोष्ट, सार्वजनिक शौचालय र परियोजना स्थल क्षेत्रमा पर्खाल निर्माण गरिरहेको छ । पेट्रोल पम्प, पार्किङ स्थल, लगायत संरचना निर्माण गर्न बाँकी छ ।

दोस्रो चरणमा होटल, कम्प्लेक्स, बसपार्क, भ्यूटावर, स्वीमिङ पुल, सिनेमा हल र पिकनिक स्थल, पार्क आकाशे पुललगायतका संरचना निर्माण गर्ने योजना छ । तर प्रदेश सरकारले पर्याप्त बजेट दिन सकेन । गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले परियोजनाको लागि ५ करोड ५० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको थियो भने चालु आर्थिक बर्षमा पनि ५ करोड मात्र बजेट विनियोजन गरेको छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा हेरिएको रिफ्रेसमेन्ट सेन्टर अहिले अलपत्र जस्तै भएको छ । तीन बर्ष भित्रमा पुरा गर्ने लक्ष्य राखिएको आयोजना ५ बर्ष हुँदा पनि गति लिन सकेको छैन । आयोजनालाई पूर्णरुप दिनको लागि आयोजना सोकेशमा राख्न लागिएको कोशी प्रदेश सरकारले जनाएको छ ।

३७ आयोजना सोकेशमा, लागत १ खर्ब ४ अर्ब ८५ करोड

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि गर्न पहिलो लगानी सम्मेलनमा ३७ वटा आयोजना सोकेशमा राख्ने जनाएको छ । लगानी प्राधिकरणका सिइओ डाक्टर सरोज कोइरालाका अनुसार ३७ आयोजना सोकेशमा राखिने छ र उक्त आयोजनाको लागत १ खर्ब ४ अर्ब ८५ करोड रहेको छ । सोकेसमा राख्न लागिएका आयोजनामा २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धीत प्रोजेक्ट छन् ।

यस्तै १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको १ वटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना रहेको कोइरालाले जानकारी दिए ।

सिईओ कोईरालाका अनुसार इलामको जितपुरमा २२ करोड लगानीमा देउमाई कफि फार्म, धनकुटाको सहिदभूमिमा २७ करोडको लगानीमा सिट्रस फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, इलामको सूर्योदय नगरपालिकामा ३३ करोडको लगानीमा डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, धनकुटाको साँघुरीगढीमा २५ करोडको योजनामा किबी फार्मिङ प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, धनकुटामै ६४ करोडको लगानीमा एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, अनुसन्धान सेन्टर र एग्रोटुुरिजमको आयोजना छन् ।

यसैगरी इलाममा ८० करोडको लगानीमा एड्भान्स नेप्लिज टि एण्ड कफी उद्योग, सोलुखुम्बुमा ६२ करोडमा आमादाबब्लाम मिनि हाइड्रो परियोजना, सोलुखुम्बुमै ५५ करोडमा मेन्जोखोला मिनि हाइड्रो, मोरङमा १ अर्ब १६ करोडको लगानीमा हर्बल प्रोसेसिङ प्रोजेक्ट उद्योग, सुनसरीमा ९ करोडको एग्रो प्रोसेसिङ सेन्टर उद्योग, उदयपुरमा ३२ अर्बको उदयपुर क्लिङ्कर, सुनसरी र उदयपुरमा २६ अर्बको ग्रिन हाइट्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, उदयपुरमा २ अर्बको बायो इथानोल प्रोजेक्ट, पहाडी जिल्लाहरू लक्षित गरी ४० करोडको लगानीमा कोदोको रक्सी उद्योगको आयोजना प्रस्तुत गरिने भएको छ ।

झापामा ६० करोडको लगानीमा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च प्रोजेक्ट उद्योग, काँकडभिट्टामा ४० करोडको बसपार्क, धनकुटाको भेडेटारमा ३० करोडको लगानीमा भेडेटार मल्टिपर्पोज कम्प्लेक्सको पूर्वाधार निर्माण, मोरङमा ४ अर्ब ८० करोडको लगानीमा विराटनगर मल्टिपर्पोज कमर्सियल कम्प्लेक्सको पूर्वाधार निर्माण, मोरङ विराटनगरमा २ अर्ब ३० करोड र १ अर्ब ७५ करोडको लगानीमा दुईवटा फाइभ स्टार होटलको पूर्वाधार निर्माणका प्रोजेक्ट तयार पारिएको कोईरालाले जानकारी दिए ।

विराटनगरमै २८ करोडको लगानीमा विराटनगर पब्लिक ट्रान्सपोर्ट प्रोजेक्टको पूर्वाधार निर्माण, मोरङमा ५ अर्बको कोशी पोडवेको पूर्वाधार निर्माण, खोटाङको हलेंसीमा १० अर्बको हलेंसी केबलकार–पोडवे निर्माण, आइटिसीतर्फ २५ करोडको लगानीमा डाटा सेन्टर स्थापना, २२ करोडको लगानीमा डिजिटल कोशी, झापाको मेचीनगरमा ५० करोडको लगानीमा इन्टग्र्रेटेड सोलिड बेस्ट मेनेजमेन्ट प्रोजेक्ट निर्माण, सुनसरीको बर्जुमा ४ अर्ब २८ करोडको लगानीमा बर्जु ताल टुरिजम प्रोजेक्ट र यस्तै सुनसरीमै ८० करोडमा रास ताल टुरिजम प्रोजेक्ट तयार पारिएको छ ।

अन्य योजनामा मोरङको बेतनामा २४ करोडको लगानीमा बेतना सिमसार टुरिजम प्रोजेक्ट, सुनसरीमा २५ करोडको लगानीमा वाटर पार्क, ३५ करोड लगानीमा धनकुटाको राजा ताल टुरिजम प्रोजेक्ट, १ अर्ब ५० करोडको लगानीमा इलामको कन्याम अन्तु केबलकार प्रोजेक्ट निर्माण, इलाममै १ अर्ब लगानीमा बुद्धपार्क चित्रे गुम्बा केबलकार प्रोजेक्ट, इलाममै ८० करोड लगानीमा कन्याम मनोरेल प्रोजेक्ट, सोलुखुम्बुमा ४० करोडको लगानीमा चिउरीखर्क नाम्चे रोप्वे निर्माण र सोलुखुम्बुकै चौंरीखर्च छेदिङमा केबलकार १ अर्ब ५० करोडको लगानीको प्रोजेक्ट सोकेसमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार