काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताएका छन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका सरकारले बनाएको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको उनको स्विकारोक्ति छ । उनले हवाई यातायात सहज बनाउनका लागि सरकारले बनाएको कार्ययोजनाको समिक्षा गर्दै मन्त्रालय अन्तसम्बन्धित निकायहरुलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने बताए ।
उनले देशभरको हवाई यातायात सञ्चालनको लागि भएका कमि कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘विमानस्थल सञ्चलानका सन्दर्भमा थुप्रै चुनौतिका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्ययोजना बनायो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्ययोजनाअनुसार कामहरु भएका छन् भने कतिपय निकायहरुबाट भएको देखिँदैन । हुन बाँकी छन् ।
अब हामीले कार्यायोजना कार्यान्वयनको समिक्षा गर्दै सबै मन्त्रालय अन्तरसम्बन्धित निकायहरुलाई कार्ययोजनालाई अक्षरसः पालना गर्न र त्यहाँको हवाई यातायात सञ्चालनको लागि भएका कमी,कमजोरीहरुलाई सच्याउने दिशामा हामी अगाडि बढ्छौं ।’
उनले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरुको सामना गर्नुपर्ने भइरहेको उल्लेख गर्दै उनले यस्तो प्रवन्ध गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए ।
उनले निजी क्षेत्रले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर संचालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताए । उनले निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरुलाई मर्जर गर्दै लैजानुपर्ने बताए ।
उनले हवाई यातायातलाई पर्यटन व्यवसायसँग जोड्दै अघि बढ्नुपर्ने बताए ।