काठमाडौं । तीन दशक भन्दा बढी समयदेखि नेपालमा विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्दै आएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले १ अर्ब ५० करोड रुपैयाँ लगानी थपेर उद्योग क्षमता विस्तार गरिरहेको छ ।
उद्योगले ठूलो क्षमताको विद्युतीय ट्रान्सफरमर प्लान्ट बनाउनका लागि क्षमता विस्तार प्रक्रिया अघि बढाएको हो । क्षमता विस्तारको काम एक वर्षमा सम्पन्न हुने निकका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । विस्तारित नयाँ प्लान्टबाट ६३ एमभीए अर्थात १३२ केभी क्षमतासम्मका विद्युतीय ट्रान्सफरमर उत्पादन गर्ने उनले जानकारी दिए ।
निकले हेटौंडादेखि १४ किलोमिटर दुरीमा रहेको मनहरीको खरङा क्षेत्रमा चार बिघा जग्गामा उद्योग विस्तार गरिरहेको छ । हेटौडामा वार्षिक १८ हजार थान विभिन्न क्षमताका ट्रान्सफरमर उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेको छ । पहिला वार्षिक २ हजार थान उत्पादन क्षमता थियो ।
नेपालमा ठूलो ट्रान्सफरमरको माग बढिरहेका बेला विदेशबाट हुने आयात प्रतिस्थापन गर्न नयाँ प्लान्ट बनाइरहेको उनको भनाई छ । उनले स्वदेशका साथै विदेशमा पनि ठूलो ट्रान्सफरमर निर्यात गर्ने योजना रहेको उनले सुनाए । विस्तारित प्लान्टमा अन्तर्राष्ट्रिय गुणस्तरको ट्रान्सफरमर उत्पादन हुने भएको छ ।
निकको उद्योग हाल हेटौंडा बजार नजिकै एक बिघामा क्षेत्रफलमा छ । निकले अहिले नेपाल विद्युत प्राधिकरण बाहेक वार्षिक रूपमा २००० वटासम्म ट्रान्सफर्मर बिक्री गर्दै आएको छ । सामुदायिक खानेपानी, नेपाल टेलिकम, एनसेल, भाटभटेनी सुपरमार्केट लगायत ठूला उद्योग निकका ग्राहक हुन् ।
साढे २ अर्बको ट्रान्सफरमर व्यापार
निकको गत वर्ष ट्रान्सफरमर व्यापार ७२ प्रतिशत बढेर २ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निकले १ अर्ब ४४ करोडब ७० लाख रुपैयाँ ट्रान्सफरमर व्यापार गरेको थियो । एक वर्षमा निकको ट्रान्सफरमर व्यापार १ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
२०२१ मा निकको ट्रान्सफरमर व्यापार ५६ करोड रुपैयाँ मात्र थियो । २०२० मा कम्पनीले ५० करोड रुपैयाँको ट्रान्सफरमर व्यापार गरेको थियो । विद्युत प्राधिकरणले ठूलो परिमाणमा ट्रान्सफरमर खरिद गरेपछि निकको व्यापारमा उछाल आएको हो ।
निकले भुटानमा पनि ट्रान्सफरमर निर्यात गर्दै आएको छ । निकले स्वदेशका साथै विदेशमा निर्यात गरेर आम्दानी गर्दै आएको छ । विद्युत प्राधिकरणले विदेशी ट्रान्सफरमर खरिद गरिरहेका बेला भुटानमा रहेका अधिकाँश ट्रान्सफरमर निकको रहेको छ ।
उद्योगले निक ब्राण्डमा १ केभिए, १० एमभिए र १३२ केभी सम्मको विद्युतीय ट्रान्सफरमर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योग हेटौडा उपमहानगरपालिकाको थानाभर्याङमा रहेको छ ।
यसरी स्थापना भएको थियो निक
सन् १९९० मा थाइल्याण्डको इकरात इन्जिनियरिङ पब्लिक कम्पनी र नेपाली उद्योगीको लगानीमा यो उद्योग स्थापना भएको थियो । १९९१ देखि निकले ट्रान्सफरमर बनाउन थालेको हो । निक स्थापना हुनु अघि कुशकुमार जोशी प्रसारणलाइन, वितरण प्रणाली सवस्टेशनको काम गर्थे । त्यतिबेला ट्रान्सफर्मर भारतबाट आयात हुने गरेको थियो ।
विद्युतीकरण आयोजना अन्तर्गत तनहुँको डुम्रेका लागि १० वटा ट्रान्सफर्मर आवश्यक परेको थियो । त्यसबेला इकरातको क्याटलगका आधारमा १० वटा ट्रान्सफर्मरको आपूर्तिको ठेक्का पाएको थियो । नेपालमा धेरै कम विद्युतीकरण भएको जानकारी पाएपछि इकरातका प्रतिनिधिहरु नेपालमै उद्योग स्थापना गर्न इच्छुक भएका थिए ।
पहिला इकरातको ४० र नेपालीको ६० प्रतिशत लगानीमा नेपाल इकरात इन्जिनियरिङ कम्पनी स्थापना भएको हो । निक अहिले नेपालीको उद्योग भइसकेको छ । इकरात नेपालबाट फिर्ता गइसकेको छ ।