तेहरान । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य नजिकै अमेरिकी अपाचे हेलिकोप्टर खसालिएपछि अमेरिका र इरानबीचको तनाव फेरि उत्कर्षमा पुगेको छ । हेलिकोप्टर खसालिएको घटनाको जवाफमा अमेरिकी सेनाले इरानको केशम टापु स्थित विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाको जिम्मेवारी इरानमाथि थोपर्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको केही घण्टामै अमेरिकी वायुसेनाले यो कारबाही अघि बढाएको हो । इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार केशम टापुमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । यो आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख सहरमा नभई होर्मुज क्षेत्र केन्द्रित रहेको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले इरानले अमेरिकी सेनाको एएच–६४ अपाचे हेलिकोप्टर खसालेको दाबी गर्दै अमेरिका त्यसको जवाफ दिन बाध्य भएको बताएका थिए । उक्त हेलिकोप्टरमा सवार दुई अमेरिकी सैनिक भने सुरक्षित रहेका छन् । अमेरिकी सेन्ट्रल कमान्डले चालक दलका दुवै सदस्यको उद्धार गरिएको र उनीहरूको अवस्था स्थिर रहेको जनाउँदै ‘आत्मरक्षाका लागि’ इरानविरुद्ध सैन्य कारबाही सुरु गरिएको स्पष्ट पारेको छ ।
अमेरिकी आक्रमणपछि इरानले पनि कडा सैन्य प्रतिक्रिया दिने संकेत गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी कदमको भत्र्सना गर्दै विदेशी सेनालाई तत्काल खाडी क्षेत्र छाड्न चेतावनी दिएका छन् । उनले इरानको सार्वभौमिकतामाथि हुने कुनै पनि आक्रमण वा धम्कीको ढिलो नगरी कडा जवाफ दिइने बताएका छन् ।
यस घटनाले विगत दुई महिनादेखि कायम रहेको अस्थायी युद्धविरामलाई पूर्ण रूपमा कमजोर बनाइदिएको छ । होर्मुज जलडमरूमध्य वरिपरि बढ्दो सैन्य उपस्थितिले अमेरिका–इरान सम्बन्धलाई पुनः सोझो द्वन्द्वतर्फ धकेलेको अन्तर्राष्ट्रिय मामिलाका विश्लेषकहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस