२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति नसच्चिएसम्म बैठक चल्न नदिने प्रतिपक्षीको अडान

बुधवार , जेठ २७, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (वार्षिक अनुमानित आय–व्यय) माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने मुख्य कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बजेटमाथिको छलफलका क्रममा उठेका विभिन्न जिज्ञासा र प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेछन् । त्यसलगत्तै आजकै बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक क्षेत्रसँग जोडिएका महत्त्वपूर्ण ‘विनियोजन विधेयक’ र ‘राष्ट्र ऋण उठाउने विधेयक’ प्रस्तुत गर्ने कार्यसूची समेत तय गरिएको छ ।

यसबाहेक, बैठकमा अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी गराइने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाइने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयले बजेट पारित गर्ने महत्त्वपूर्ण कार्यसूची तय गरे पनि आजको बैठक सहज रूपमा अघि बढ्नेमा भने आशङ्का उब्जिएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले हालै दिएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने र यसबारे सरकारले संसद्‌मा स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको माफी वा स्पष्टीकरण नआएसम्म सदन चल्न नदिने अडान कायमै राखेकाले आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश पाउने वा पुनः अवरोधको सिकार बन्ने भन्ने विषय अनिश्चित बनेको छ ।

बजेट अधिवेशनको समय घर्किँदै जाँदा संसदीय गतिरोध कायमै रहेमा बजेटसम्बन्धी छलफल र सरकारलाई खर्च गर्ने बाटो खोल्ने विधेयकहरू अगाडि बढ्ने प्रक्रियामा गम्भीर कानुनी र व्यावहारिक असर पर्न सक्ने भन्दै राजनीतिक वृत्तमा चिन्ता व्यक्त गर्न थालिएको छ । सदनको गतिरोध अन्त्यका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट