logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’

    झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’

    462
    Shares
    झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’

    झापा । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा एक अर्ब ३० करोड रुपैयाँ लगानी भएको बताए । यही सन् २०२५ को जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उनले जानकारी दिए ।

    काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ । मेचीनगर–८ मा अर्को पाँचतारे ‘होटल मेची क्राउन’ बिगतदेखि सञ्चालनमा रहेको छ ।

    झापामा अब तीन वटा पाँचतारे दर्जाका पर्यटकस्तरीय होटल भएका छन् । विर्तामोडमा यस्तै पाँचतारे होटल ‘किङ्सबेरी’ पनि सञ्चालनमा छ । अरु दुई वटा पाँचतारे स्तरका होटल झापामा प्रस्तावित छन् । यसप्रकार झापा पाँचतारे होटलको हब बनेको छ ।

    केही दिनपछि नै सञ्चालनमा आउने होटल ‘अश्वत्थ’ले पाहुनाका लागि अनलाइन बुकिङ खुला गरिसकेको छ । होटलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा भएको प्रमुख व्यवस्थापक कुमार कोइरालाले बताए ।

    होटलमा इन्डोर स्वीमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योग साधनाको सुविधा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । क्यासिनोसमेत होटलमा सञ्चालन हुने भएको छ ।

    एसियाका ३२ मुलुकलाई स्थलमार्गबाट जोड्ने एसियाली राजमार्गको निर्माण तीव्रगतिमा भइरहेको कारण नेपालको पूर्वीप्रवेशद्वार मेचीनगरमा पर्यटकीय चहलपहल बढ्ने भएकाले उत्साहित भएर पाँचतारे होटलमा आफुले लगानी गरेको सञ्चालक प्रज्ज्वल घिमिरे बताउँछन ।

    भारतका मुख्य सहरमा दैनिक ४० उडान भरिरहेको बागडोग्रा विमानस्थल र रात्रिकालीन सञ्चालन क्षमता भएको चन्द्रगढी विमानस्थलबाट ३० किलोमिटरभन्दा कम दूरीभित्र रहेको मेचीनगर बाह्य र आन्तरिक पर्यटकका लागि बासस्थान भएको उनले बताए ।

    “भारतीय, भूटानी र बङ्गलादेशी पर्यटकलाई लक्षित गरी होटल खोलेका हौँ,” उनले भने, “भविष्यमा इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंककबाट पर्यटक नेपाल घुम्न एसियन हाइवे हुँदै नेपालमा सजिलै आइपुग्ने सम्भावना छ । यही सम्भावना देखेर धमाधम अरु होटल पनि खुलिरहेका हुन् ।”

    पूर्वीनाकाको पाँच किलोमिटरभित्र काँकडभिट्टा, इटाभट्टा र धुलाबारी बजार क्षेत्र पर्दछन् । इटाभट्टा क्षेत्रमा पाँचतारे ‘अश्वत्थ’ र ‘मेची क्राउन’ रहेका छन् । यी दुबै होटलमा क्यासिनोसमेत सञ्चालन रहेका छन् । काँकडभिट्टाका अरु दुई पर्यटकीय होटलमा मिनी क्यासिनो चलिरहेका छन् ।

    अब मेचीनगरमा क्यासिनोको सङ्ख्या चार पुगेको छ । मेचीनगर–१० धुलाबारीमा अर्को एउटा पाँचतारे होटलको भवन निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा विर्तामोडमा थप एउटा पाँचतारे होटलको निर्माण भइरहेको छ ।

    भारतको गोवा र सिक्किममा मात्र क्यासिनो सञ्चालन हुने भएकाले भारतीय धनाढ्य नेपालका क्यासिनोप्रति आकर्षित छन् । क्यासिनो सञ्चालनले होटल व्यवसायसमेतमा टेवा पुगेको छ ।

    होटल ‘अश्वत्थ’मा सुरुमै ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलले पर्यटकका लागि हिमाली क्षेत्रको दृश्यावलोकन गराउन माउन्टेन फ्लाइटसमेतको व्यवस्था मिलाएको प्रमुख व्यवस्थापक कोइरालाले बताए । भारतको आसाम, दिल्ली र पश्चिम बङ्गालका पर्यटकले होटलको बुकिङ गर्न थालिसकेको उनले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend