कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए । “प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने , “न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।” उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइयो ।
त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्याइएको छ । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ ।