काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमीकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरे ।
श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताए । वर्तमान सरकारलाई श्रमीकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ । अनौपाचारिक क्षेत्रमा रहेका श्रमीकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको बताए ।
उनले भने, ‘एक त यो सरकार त्यसै पनि दलाल पुँजीपतिहरुको लागि बनेको सरार हो । तपाईंहरु फिल्डमा आन्दोलन गर्नुस्, प्रेसर गर्नुस् । हामी संसदमा गर्छौं, बोल्छौँ, सरकारलाई दबाब दिन्छौँ, तपाईंहरुको पावरको कारणले हामीले पनि त्यो खालको शक्ति संसदभित्र प्राप्त हुनेछ । सरकारलाई कुनैपनि हालतमा दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहको पक्षमा बनेको सरकारले कुनैपनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ । इन्फरमल च्यानलमा रहनुभएका श्रमीकलाई फर्मल च्यानलमा ल्याउन हाम्रो पार्टी तयार छ ।’
उनले श्रमीकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गरे । श्रमीकहरुले आफ्नो ठाउँबाट आन्दोलनको शुरुवात गर्न आह्वान गरे । श्रमीकको आन्दोलनलाई अझ सशक्त बनाउन जरुरी रहेको बताए ।