logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा हुने

    राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा हुने

    133
    Shares
    राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा हुने

    काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण आगामी माघ १२ गते दशरथ रंगशालामा हुने भएको छ ।

    प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेनरी एशोसिएशनले राइट टु प्रोटिन हाफ म्याराथन गर्दै आएको हो ।

    आयोजकले सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै म्याराथनको बारेमा जानकारी दियो । गत तीन वर्षदेखि यो हाफ म्याराथन आयोजना हुँदै आएको छ ।

    यस संस्करणमा महिला र पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाहरूका लागि रन फर फन विधामा प्रतिष्पर्धा हुने भएको छ ।

    राइट टु प्रोटिन म्याराथनमा करिब आठ हजार धावकले दौडिने आयोजकको अनुमान रहेको छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ । उक्त म्याराथन बिहान ६ः३० बजे शुरु हुने आयोजक नेपाल भेटेनरी एशोसिएशनले जनाएको छ ।

    सहभागिता र पुरस्कार राशिका हिसावमा यस प्रतिष्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका अध्यक्ष डा।शितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्फत सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन हुन् । पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् ।

    सोमवार भएको पत्रकार सम्मेलनमा धाविका सन्तोषीले खेलाडीहरूको सेवासुविधा, करकट्टी बिना पुरस्कार दिने र अन्य विभिन्न पक्षका हिसाबले राइट टु प्रोटिन उत्कृष्टमध्ये एक रहेको बताइन् । यस पल्ट पनि आफू खेल्ने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् । धाविका सन्तोषीले यस प्रोटिन म्याराथनले खेलाडीहरूलाई आकार्षित गरिरहेको बताइन् ।

    आफूले अध्ययन गरिरहेको विषय डाइट एन्ड न्युट्रिसन रहेको र यस विषयमा आयोजकले सन्देश पनि दिइरहेकाले खेलाडीका लागि यो आयोजना विशेष रहेको धाविका सन्तोषीको भनाइ छ । खेलाडीले पाउनुपर्ने पुरस्कार ढिला पाउने गरे पनि यस म्याराथन आयोजकले लगत्तै पुरस्कार दिने गरेको उनको भनाइ छ ।

    आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

    १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । महिलामा पाँच किलोटमिटरतर्फत शीर्ष तीनले क्रमशः ३० हजार, २० हजार र १५ हजार पाउने आयोजकले जनाएको छ । चौथोले १० हजार र चौथो पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

    विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियरतर्फत महिला र पुरुषमा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक कमिटीका अध्यक्ष डा. शितलकाजीले जानकारी दिए ।

    यस प्रतियोगिताका लागि करिव पाँच सय जना स्वयं सेवकहरु परिचालन गरिने आयोजकले जनाएको छ । नेपाल एथलेटिक्स संघले म्याराथनलाई प्राविधिक सहयोग प्रदान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend